सर्वसाधारणलाई सतर्क रहन सरकारी अपील, अधिकांश बिष्फोटमा विप्लव माओवादीको हात रहेको धानुकको भनाई

१९ मंसिर २०७४, मंगलवार ०९:५७

मंसिर १९ ,काठमाण्डौं ।

देशका विभिन्न ठाउँमा बम विस्फोटका घटनाबाट आतंक सृजना गर्ने प्रयास नरोकिएपछि सरकारले सर्वसाधारणलाई सतर्क रहन अपील गरेको छ । सार्वजनिक सूचना नै निकालेर गृह मन्त्रालयले विस्फोटको घटना बढेकाले सर्तक रहन आग्रह गरेको हो ।मन्त्रालयले आफ्नो गाउँ , छर-छिमेक वरपर कोही नचिनेको व्यक्ति वा शंकास्पद गतिविधि र शंकास्पद वस्तु वा सामान देखे तत्काल प्रहरीमा खबर गर्न आग्रह गरेको छ । प्रहरी कन्ट्रोलको सम्पर्क नम्बर एक सय वा नजिकको सुरक्षा निकायमा खबर गरी सहयोग गर्न मन्त्रालयले सर्वसाधारणसँग अपील गरेको हो । मंसीर २१ गते हुने दोस्रो चरणको चुनाव नजिकिँदै गर्दा उम्मेदवार लक्षित विस्फोटको घटना एकपछि अर्को गर्दै भइरहेको छ । आक्रमणबाट उम्मेदवारदेखि प्रचारमा हिंडेका कार्यकर्तासमेत घाइते बनाइएका छन् ।

यसैबीच, सरकार र सुरक्षा निकायले सुरक्षा व्यवस्था कडा बनाएको बताएपनि थुप्रैं नाका पार गरेर विस्फोटक पदार्थ भित्रिरहेकोप्रति भने विज्ञहरुले प्रश्न गरेका छन् । गुप्तचर र सूचना संयन्त्र कमजोर हुँदा यस्ता घटना बढेको उनीहरुको दावी छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत गस्ती र निगरानी बढाउँदा पनि घटना नरोकिनु चिन्ताको बिषय भएको उनिहरुको तर्क छ ।

देशका उच्चपदस्थ व्यक्तिहरुको बसोवास रहेको स्थान जहाँ चौबीसै घण्टा उच्च सुरक्षा हुने भएपनि बम विष्फोटको घटना हुनु निकै नै गम्भीर बिषय भएको विज्ञहरुको ठहर रहेको छ । दोस्रो चरणको निर्वाचन मिति नजिकिंदै गर्दा राजधानी लगायत देशका विभिन्न भागमा बम आतंक मच्चाइएपछि सुरक्षा सतर्कता बढाइएको दावी सुरक्षा निकायले गरेको छ । चुनावी प्रचारकै अभियानमा नेपाली काँग्रेस भित्रका युवा नेता गगन थापा हुन् या रक्षामन्त्री भीमसेना दास प्रधानको ठमेलमा रहेको घरका साथै देउवा निवास बुढालीनकण्ठ परिसरका साथै उपत्यका छेउछाउका चुनावी सभामा बम विस्फोट हुँदा सर्वसाधारण र आममतदातामा भय सिर्जना गरेको देखिन्छ । यसका बाबजुद पनि आम मतदातामा त्रास फैलन नदिन सरकारी संयन्त्र लागेको अधिकारीहरुको भनाई छ । सुरक्षा प्रबन्ध चुुस्त र दुरुस्त पारिएको दावी प्रहरीको छ । निर्धक्कका साथ मतदान गर्न सुरक्षा प्रबन्ध मिलाइएको दावी काठमाडौं प्रहरी परिसर प्रमुख रविन्द्र धानुकको छ ।

उनले काठमाडौंको अलावा देशै भर चुनाव हुनबाँकि जिललाहरुमा विस्फोट गराउने ब्यक्तिहरुलाई पक्राउ गरिएको जानकारी दिंदै अनुसन्धान भइरहेको बताएका छन् । बम बिस्फोटका अधिकांश घटनामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता संलग्न रहेको धानुकको दावी छ ।