नेपाल टेलिकमले ल्याएको विन्टर अफरमा केके छ सुविधा ?

३ माघ २०७८, सोमबार ०७:४१

नेपाल टेलिकमले आज सोमबारदेखि लागू हुने गरी विन्टर अफर २०७८ उपलब्ध गराएकाे छ ।

कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकहरुको रुचिअनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर उपलब्ध गराएको हो ।

अफरअन्तर्गत कम्पनीले नै उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड प्रिपेड डाटा अफरमा थप प्याकेज समेत उपलब्ध गराएकाे छ ।

पहिले २८ दिनका लागि ५ सय ९९ रुपैयाँमा लिन सकिने ‘सजिलो अनलिमिटेड प्रिपेड ५९९’ मात्र उपलब्ध भइरहेकोमा अब ‘सजिलो अनलिमिटेड प्रिपेड ७९९’, ‘सजिलो अनलिमिटेड प्रिपेड ९९९’ र ‘सजिलो अनलिमिटेड प्रिपेड १४९९’ प्याक समेत उपलब्ध हुनेछ।

यसमा ग्राहकलाई अनलिमिटेड भ्वाइस कल र निश्चित डाटा (प्रतिदिन क्रमशः १ जीबी, २ जीबी र ४ जीबी) लगायका सेवाहरु उपलब्ध गराइएको छ । डाटा प्याक सकिए पनि अतिरिक्त शुल्कविना नै इन्टरनेट चलाउन सकिने सुविधा यी प्याकहरुको मुख्य विशेषता हो ।

सस्तो प्रिपेड कम्बो प्याकमा थप सुविधा उपलब्ध गराइने छ। यसअन्तर्गत २ सय ९९ रुपैयाँमा अब २८ दिनसम्म चलाउन मिल्ने गरी १५० मिनेट अन–नेट भ्वाइस कलका साथै २० वटा एसएमएस पठाउन र २ जीबी डाटा समेत चलाउन सकिनेछ ।

यसैगरी, नेपाल टेलिकमको भ्वाइस ओभर एलटीई (भीओएलटीई) सेवा प्रयोगकर्ताहरुका लागि उपलब्ध भइरहेको विभिन्न अफर निरन्तर रहनेछ । पहिलो पटक यो सेवा एक्टिभ गर्ने ग्राहकले २८ दिनसम्म प्रयोग गर्न सक्ने गरी निःशुल्क १०० मिनेट अन–नेट कलको सुविधा पाउनेछन् ।

साथै फोरजी होम ब्रोडब्यान्ड लिने ग्राहकका लागि मासिक र वार्षिक रुपमा लिन सकिने वेसिक र प्रिमियम प्याकेज उपलब्ध गराइने छ ।
यीबाहेक पहिलेदेखि नै उपलब्ध अधिकांश अफरलाई निरन्तरता दिइएको छ । अफर प्राप्त गर्नका लागि ग्राहकले स्टार १४१५ ह्याक्स डायल गर्नुपर्नेछ ।

कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।