चालु आर्थिक वर्ष २०७८/७९ को अर्धवार्षिक अवधिसम्ममा सरकारले नत लक्ष्य अनुसार राजस्व उठाएको छ, नत खर्च नै ।
सरकारले चालु आर्थिक वर्षका लागि ११ खर्ब ८० अर्ब ६० करोड रुपैयाँ बराबर राजस्व संकलनको लक्ष्य राखेको छ, पुस मसान्तसम्मको राजस्व असुली हेर्दा कुल लक्ष्यकाे आधा पनि राजस्व उठेको छैन ।
हालसम्म ५ खर्ब ४२ अर्ब ८ करोड ३४ लाख रुपैयाँ बराबर राजस्व उठेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । यसमा कर राजस्वको अंश ४ खर्ब ९४ अर्ब १ करोड र गैर कर राजस्वको अंश ४८ अर्ब ६ करोड रुपैयाँ बराबर छ ।
यही अवधिमा सरकारी खर्चको अवस्था पनि नाजुक देखिएको छ । पुस मसान्तसम्ममा वार्षिक लक्ष्यको ३१ प्रतिशत बराबर मात्रै खर्च भएको महालेखा नियन्त्रकले जनाएको छ । चालु आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८२ करोड रुपैयाँ बराबर वार्षिक बजेट विनियोजन भएकोमा हालसम्म ५ खर्ब ६ अर्ब ६९ करोड रुपैयाँ बराबर खर्च भएको हो । जसमध्ये चालुतर्फ ३८.१५ प्रतिशत अर्थात ४ खर्ब ६ अर्ब ४१ करोड, पुँजीगततर्फ १३.४४ प्रतिशत अर्थात ५० अर्ब ८० करोड र वित्तीय व्यवस्थापनतर्फ २६.१२ प्रतिशत अर्थात ४९ अर्ब ४७ करोड रुपैयाँ बराबर खर्च भएको छ ।
आर्थिक वर्ष सुरु भएको ५ महिना बित्दासमेत आउन नसकेको वैदेशिक अनुदान पुस महिनामा मात्रै १३ अर्ब ८८ करोड ३३ लाख रुपैयाँ बराबर आएको छ । महालेखा नियन्त्रकका अनुसार यो रकम चालु आर्थिक वर्षका लागि सरकारले वैदेशिक अनुदान उठाउन राखेको लक्ष्यको २३.१७ प्रतिशत बराबर हो । चालु आर्थिक वर्षमा ६० अर्ब रुपैयाँ वैदेशिक अनुदान सहायता लिने सरकारको लक्ष्य छ ।
