
राज्यलाई कर नतिर्ने तर आफ्नो उद्योग धन्दा, व्यवसाय चलाउन नछाड्नेहरुको सूची लामै देखिएको छ । सूचीमा निर्माण व्यवसायीदेखि ठूला मिडियाहरु समेत रहेका छन ।
नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष शकुन्तलाल हिराचनको कम्पनी युनाइटेड बिल्डर्स एन्ड इन्जिनियर्स प्रालिले १ करोड ४० लाख ९९ हजार भ्याट बुझाएको छैन । अरु विभिन्न कम्पनीसँग हिराचनको कम्पनीले गरेको साझेदारीका परियोजनामा पनि करोडौं भ्याट तिरिएको छैन । युनाइटेड र हिस्टोरिक कन्स्ट्रक्स जेभीले रु. २ करोड ४२ लाख भ्याट तिर्न बाँकी छ।
त्यस्तै, व्यवसायीको अर्को संस्था नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपककुमार मल्होत्राको स्पेसटाइम नेटवर्कले पनि रु. ४० लाख २९ हजार भ्याट तिरेको छैन । राजनीतिमा लागेका निर्माण व्यवसायीले पनि भ्याट बुझाउन अटेर गरेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीपछिरिङ लामाको कम्पनी लामा कन्स्ट्रक्सनसहित दि कन्चनजंघा कन्स्ट्रक्सन र डाँफे कन्स्ट्रक्सनले रु. २ करोड ८६ लाख भ्याट बुझाएको छैन। लामा कन्स्ट्रक्सनले डाँफे र गोल्डेनगुड कन्स्ट्रक्सनसँग गरेको साझेदारीमा पनि ५५ लाख २६ हजार भ्याट बुझाउन बाँकी छ।
नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङको कम्पनी कान्छाराम कन्स्ट्रक्सनसहितका अरु कम्पनी साझेदारीले पनि करोडौं भ्याट तिरेका छैनन् । कान्छाराम–डाँफे–शर्मा जेभीले १ करोड ४२ लाख भ्याट तिर्न बाँकी छ ।
कान्छाराम–डाँफे जेभीले ५१ लाख ६८ हजार भ्याट बुझाएको छैन । लामा र कान्छाराम जेभीले ५२ लाख ३६ हजार भ्याट बुझाएको छैन । कान्छाराम मृत संजिवनी जेभीले ३ करोड ३१ लाख भ्याट बुझाएको छैन ।
अर्का कांग्रेस नेता जयराम लामिछानेको कम्पनी स्वच्छन्द निर्माण सेवाले पनि बानियाँ र द क्याराभान जेभीसँग मिलेर ३८ लाख ६३ हजार भ्याट बुझाउन बाँकी छ । कांग्रेसकै केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको कम्पनी महादेव खिम्ती निर्माण सेवाले पनि डाँफे कन्स्ट्रक्सनसँग मिलेर गरेको साझेदारीबाट ३७ लाख २८ हजार तथा मिचीको एन्ड कम्पनीसँगको साझेदारीबाट १९ लाख ३८ हजार भ्याट बुझाएको छैन । त्यस्तै, महादेव खिम्तीले अकेला जेभीसँग मिलेर ४३ लाख २६ हजार बुझाउन बाँकी छ ।
कांग्रेसका अर्का केन्द्रीय सदस्य तथा सांसद बहादुरसिंह लामाको कम्पनी हिम्दुङ एन्ड थोकरले धुकछु र कान्छारामसँग गरेको साझेदारी कामबाट ५६ लाख ९० हजार भ्याट बुझाउन बाँकी छ । पप्पु कन्स्ट्रक्सन, शर्मा एन्ड शर्मा, बिरुवा लगायतका दर्जनौं कम्पनीले पनि भ्याट बुझाउन बाँकी छ ।
व्यवसायी राकेशकुमार अग्रवाल, नेपाल पारवाहन तथा गोदाम व्यवस्था कम्पनी, होटल ल्यान्डमार्क लगायतका ३५२ कम्पनीले पनि करोडौं भ्याट बुझाउन बाँकी रहेको देखिएको छ । भ्याट बुझाउन बाँकी रहेको सूचीमा एभिन्युज टिभी, बिजमान्डू प्रालि, एबीसी मिडिया लगायत पनि छन् ।
सबै भन्दा बढी भ्याट तिर्नुपर्ने कम्पनीमा राकेशकुमार अग्रवालको अन्नपूर्ण सुगर एण्ड इण्डष्ट्रिज प्राली रहेको छ । उक्त प्रालीले ८ करोड ६२ लाख ९१ हजार ५१७ रुपैयाँ भ्याट तिर्न बाँकी रहेको छ । अन्नपूर्ण सुगर मिलले उखु किसानको समेत विगतको भुक्तानी दिएको छैन । उखु किसान हरिश्याम रायका अनुसार उक्त मिलले २०७४ साल र २०७५ को गरी झण्डै ५ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ।
आन्तरिक राजस्व कार्यालय पुतलीसडकका अनुसार मूल्य अभिवृद्धि कर (भ्याट) नतिर्ने २३५ व्यवसायीको नाममा भ्याट तिर्न समयसीमा दिँदै सार्वजनिक सूचना जारी भइसकेको छ।
अब उनीहरुले १५ दिनभित्र भ्याट तिर्नु नपर्ने प्रमाण पेश गर्नुपर्छ वा बाँकी भ्याट तिर्नुपर्छ । भ्याट दाखिला नगरेमा मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा २१ (१) मा अनुसार कारवाही अघि बढाइनेछ । सो अनुसार सम्बन्धित व्यावसायिक कम्पनीको कारोबार रोक्का गर्ने, बैंक खाता रोक्का गर्ने लगायतका कदम चालेर बक्यौता असुल कर कार्यालयले गर्नेछ ।
