
काठमाडौं । विराटनगर, जिल्ला प्रशासन कार्यालय मोरङले भारत हुँदै विराटनगर छिर्ने जोकोहीलाई पीसीआर रिपोर्ट र खोप कार्ड अनिवार्य गरेको छ । जोगबनी नाका हुँदै नेपाल प्रवेश गर्न कोरोना–१९ विरुद्धको खोप र ४८ घण्टाभित्र गरिएको कोरोना परीक्षणको रिपोर्ट अनिवार्य गरिएको हो ।
ओमिक्रोन भेरियन्ट संक्रमण भारतमा ह्वात्तै बढेपछि नेपालबाट रोजगारको शिलशिलामा भारत गएका प्रवासी नेपालीहरु नेपाल फर्कने क्रम जारी छ । नेपाल फर्कने नेपालीहरुमा पीसीआर परीक्षण गर्दा पोजिटिभ रिपोर्ट बढी आएपछि भारत हुँदै विराटनगर छिर्ने जोकोहीलाई पीसीआर रिपोर्ट र खोप कार्ड अनिवार्य गरेको हो ।
भारतमा कोभिड उच्च गतिमा फैलिएकाले नेपालमा संक्रमण रोक्न यस्तो निर्णय गरिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाले जानकारी दिए। जिल्ला कोरोना व्यवस्थापन समितिको बैठकले भारतबाट नेपालमा कोरोना नभित्र्याउन यस्तो निर्णय गरेको हो ।
स्वास्थ्य सुरक्षा र सतर्कता अपनाउनसमेत प्रशासन कार्यालयले नागरिकलाई सचेत गराएको छ। भारतबाट नेपाल प्रवेश गर्नेहरूलाई होल्डिङ सेन्टरमा होल्ड गराउनेसमेत बैठकले निर्णय गरेको छ। कसैमा कोभिड भएमा विराटनगरका आइसोलेसनमा राखिने प्रशासन कार्यालयले जनाएको छ ।
