बाँकेमा २ दिनको अन्तरमा बाघको आक्रमणबाट ३२ वर्षीया महिलाको मृत्यु

२५ पुष २०७८, आईतवार ११:३७

काठमाडौं । पछिल्लो समयमा बाँकेमा बाघको आक्रमणबाट धेरै मानवीय क्षति भएको छ । यस प्रति सम्बन्धित निकायको ध्यान जानु जरुरी छ । यस्ता घटना मौलाउदै गयो भने त्यस क्षेत्रको जनजीवन नराम्रो असर पर्ने भएको हुँदा सचेत हुनु पनि अति जरुरी देखिएको छ ।

पाटे बाघको आक्रमणबाट बाँकेमा एक महिलाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका–६ की ३२ वर्षीया चाँदनी थारुको शनिबार बिहान बाघको आक्रमणवाट मृत्यु भएको हो ।
नजिकैको सामुदायिक वनमा छोरा, छोरीसहित दाउरा लिन गएकी थारुको बाघले आक्रमणगर्दा मृत्यु भएको मृतकका दाजु ओमराज चौधरीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नजिकैको जंगलमा बाघले थारुलाई आक्रमण गरेकोे खबर पाएपछि प्रहरीको टोली र स्थानीयहरुले खोजतलाश गर्दा १२ बजेर २० मिनेटमा शव फेला परेको हो ।

पछिल्लो समय बाँकेमा बाघको आक्रमणका घटना बढन थालेका छन । बिहिबार मात्रै राप्तीसोनारी–४ की ५४ बर्षिय महिला लिला बिष्टको बाघको आक्रमणबाट मृत्यु भएको थियो । सामुदायिक वनमा पाटे बाघको आतंक बढेपछि स्थानीय त्रासमा छन् । तिन महिना यता बाँकेमा बाघको आक्रमणवाट चार जनाको मृत्यु भईसकेको छ ।