काठमाडौं । बिहीबार बिहान करिब साढे १० बजेतिर कुमारी बैंकलाई प्रणाली ह्याकिङ गर्ने चेतावनीसहितको मेल आएसँगै राष्ट्र बैंकसहित सबै बैंकहरू हाई अलर्टमा बसेका छन् । ह्याक गर्ने चेतावनीसहितको मेल बैंकले प्राप्त गरेसँगै सम्पूर्ण बैंकिङ प्रणाली डाउन गरेर हाई अलर्टमा बसेको कुमारी बैंकका कायममुकायम प्रमुख कार्यकारी प्रमुख अनुज तिमिल्सिनाले बताए । ‘हामीले मेल आएलगत्तै करिब पाँच घन्टा प्रणाली डाउन गरेर चेक गरेका छौँ,’ उनले भने, ‘अहिले कुनै समस्या देखिएको छैन ।’ बैंकमा साउदी ग्रुप अफ कम्पनीको नामबाट मेल आएको तिमिल्सिनाले जानकारी दिए । यद्यपि, यो चेतावनी मात्र भएको आशंका बैंकरहरूले गरेका छन् ।
बैंकहरूमा यस्ता चेतावनी दैनिकजस्तो आइरहने नेपाल बैंकर्स संघका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले बताए । ‘अहिले यस्तो चेतावनी दैनिकजस्तो आउने गरेको देखिन्छ, धेरै यस्ता चेतावनी गम्भीर प्रकृतिका हुँदैनन्,’ उनले भने, ‘नयाँ सिकारुहरूले पनि यस्तो प्रयास गर्छन् वा पुरानैले पनि यस्तो गरिरहेका भने हुन्छन्, तर धेरै यस्ता प्रयासमा मात्रै सीमित हुन्छन् ।’
यद्यपि, सबै बैंकहरूमा यसबारे जानकारी गराइएको र सावधान हुन भनिएको छ । यस्ता इमेल चेतावनीकै रूपमा मात्रै आएको भए पनि सबै बैंक तथा वित्तीय संस्थाहरूलाई हाई अलर्टमा बस्न भनिएको र अहिले राष्ट्र बैंककै प्रणालीको पनि परीक्षण भइरहेको राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बताए । ‘हामीले सबै बैंक तथा वित्तीय संस्थाहरू र आफ्नै (राष्ट्र बैंक)कै समेत प्रणाली जाँच गरिरहेका छौँ,’ उनले भने, ‘डराउनुपर्ने कुनै अवस्था देखिएको छैन, तर सबैलाई हाई अर्लटमा बस्न भनेका छौँ ।’
ह्याकरले कुमारी बैंकको इमेलमा भने पहुँच पुर्याउन सफल भएको देखिएको छ । ‘उहाँहरूको इमेल कम्प्रमाइज भएको पाइएपछि हाहाकार भएको हो,’ नेपाल इन्टरनेट फाउन्डेसनका अध्यक्ष विक्रम श्रेष्ठले भने, ‘अर्थात्, इमेलले स्वचालित रूपमा प्रतिक्रिया (अटो रेस्पोन्स) दिएको देखिएको थियो ।’ बैंकहरूमा सामान्यतया सबै काम गर्ने विभागहरूको ‘सर्भर जोन’ अलग–अलग हुने भएकाले इमेल सर्भरमा बाहेक अयन्त्र समस्या देखिएन । ‘सो इमेलमा मात्र समस्या देखिएकाले यो सजिलै निराकरण हुनेछ,’ श्रेष्ठले भने।
