
काठमाडौं । गुल्मीको ऐतिहासिक तथा धार्मिक स्थल रेसुङ्गामा हिमपात भएको छ । बिहान ३ बजेदेखि हिमपात भइरहेको यज्ञशालामा बस्दै आएका पण्डित कृष्ण प्रसाद पन्थीले जानकारी दिए ।
रेसुङ्गाको महापोखरी देखि भ्युटावरसम्मका क्षेत्रमा करिब १ फुट जति हिउँ परेको पन्थीले जानकारी दिए। हिमपातले त्यहाँ रहेका सम्पूर्ण बोट विरुवा ढाकेको पन्थीले बर्र्ताए । पन्थीका अनुसार महापोखरी, यज्ञशाला, सिद्धबाबा क्षेत्र, भ्युटावरमा हिमपात भएको हो ।

हिमपात भएसंगै हिउँसंग रमाउने पर्यटकहरुका लागि भने नयाँ दृश्य सिर्जना भएको पन्थीको भनाई छ । उनले हिउले भरिएको रेसुंगाको अवलोकनका लागि पनि आग्रह गरे । अहिले सदरमुकाम तम्घास लगायतका क्षेत्रमा मौसममा परिवर्तन देखिएको छ ।
सदरमुकाम देखि माथि रेसुङ्गा क्षेत्रमा कुहिरो लागिरहेको छ । हिमपात भएसंगै चिसो भने ह्वात्तै बढेको छ । हिमपातका कारण सदरमुकाम तम्घास आसपासका क्षेत्रहरुमा चिसो बढेको हो । चिसोबाट छल्नका लागि तातो खानेकुरा खाने, न्यानो कपडा लगाउने जस्ता कुराहरुमा ध्यान पुर्याउन स्वास्थ्यकर्मीहरुको आग्रह रहेको छ ।
