बर्षासँगै चिसो बढ्ने चिसोबाट बच्न एवं सतर्कता अपनाउन महाशाखाको अनुरोध

१४ पुष २०७८, बुधबार ०८:३५

काठमाडौं । देशका अधिकांश स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पुर्ण बदली रहेको छ।उच्च पहाडी तथा हिमाली भू–भागमा रातिदेखि नै हल्का हिमपात भइरहेको महाशाखाको भनाइ छ ।

महाशाखाका अनुसार आज (बुधबार) दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानमा दिनभरजसो नै वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू–भागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावनासमेत रहेको छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ। देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ

राति पनि देशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावले देशको धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही अधिकांश भू–भागमा अधिकतम तथा न्यूनतम तापक्रममा गिरावट आउने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।

त्यसैगरी, यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई÷यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।