काठमाडौं । पछिल्लो समय निकै व्यस्त कलाकार हुन्– पल शाह। चलचित्र उद्योग सुनसान रहँदा पनि पल सक्रिय थिए।
केही चलचित्रको शीर्ष भूमिकामा रहेर अभिनय गरेका पलले २ सय भन्दा धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्।

सधैं जस्तो छायांकन व्यस्त रहने पलले छायांकनका क्रममा विभिन्न समस्या झेलिरहेका हुन्छन्। पललाई सबैभन्दा ठूलो समस्या त छायांकनका क्रममा समयमा नपाइने खाना भइदिन्छ। पल यसै पनि भोक खप्न सक्दैनन् त्यसमाथि छायांकन स्थलमा खानाको टुङ्गो हुँदैन।

बिहीबार काठमाडौंको अनामनगरमा रहेको ‘रेस्टुरेन्ट नेभर माइन्ड’को वार्षिक उत्सवमा सहभागी हुन पुगेका पलले आफ्नो भोकसँग गाँसिएको किस्सा सुनाएका हुन्।

‘पेटमा भोक छ भनेर सुटिङ रोक्न मिल्दैन। यसैले कैयौं पटक भोकका कारण पलका आँखाबाट आँसु झरेका छन्’, पल भन्छन्, ‘म भोक खप्नै सक्दिनँ र धेरै पटक भोक लागेको बेला पेट दुख्नुका साथैं आँखाबाट आँसु आउँछ।’
आफूलाई भोक लागेको बेला निर्माण टिमसँग खाना माग्न गाह्रो हुन्छ। निर्माण टिमले खाना दिने समयमा भोक टरिसकेको हुन्छ। त्यसैले हिजोआज पल आफ्नो ब्यागमा चकलेट बोकेर हिँड्छन्।
पल भन्छन्, ‘छायांकनका क्रममा मलाई भोक लाग्यो भन्न गाह्रो हुँदो रहेछ। त्यसैले हिजोआज चकलेट बोक्छु र भोक लागेको बेला त्यही खाएर काम गर्छु।’
छायांकनका क्रममा बिहानको खाना खाने समयमा बल्ल नास्ता खुवाउने गरेको पलले सुनाए। बिहानको खाना नै धेरैजसो छायांकनमा बेलुकाको ४ बज्ने गरेको उनको भनाइ छ। कति निर्देशकले भने पाकेको खाना पनि छायांकन रोक्न नमिल्ने भन्दै निरन्तर भोकै सुटिङ गर्ने गरेको पलले सुनाए।
खानामा धेरै चुजी छैनन् पल। सुटिङ स्पटमा जस्तो खाना पाक्छ त्यस्तै खान्छन्। तर समयमा खाना खान नपाउँदा पललाई धेरैपटक भोकले सताएको छ। समयमा खाना खान नपाउँदा स्वास्थ्य समस्या समेत झेल्नु परेको पलले सुनाए।
