हेलिकप्टरमार्फत डोजर ढुवानी

९ पुष २०७८, शुक्रबार ११:००

काठमाडौं । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर–१ मा सडक बनाउन हेलिकप्टरबाट डोजर ढुवानी गरिएको छ ।

वडा नम्बर–१ चैतिखारामा सडक बनाउन हेलिकप्टरमार्फत डोजर ढुवानी गरिएको आठबीसकोट नगरपालिकाका प्रमुख गोर्खबहादुर केसीले जानकारी दिए । नगरपालिकाको वडा नम्बर–३ खदिमा रहेको डोजर आज दिनभरिमा वडा नम्बर एकमा पुर्याइ सकिने नगरप्रमुख केसीले बताए।

हिजो पनि हेलिकप्टर गोतमकोट पुगेर डोजरका सामग्री ढुवानी गरेको थियो । वडा नम्बर–१ मा रहेको साजेबगर– चैतिखारा– बारिङ्गे सडक निर्माणका लागि हेलिकप्टरबाट डोजर ल्याउनुपरेको वडा अध्यक्ष देवबहादुर घर्तिले बताए। दुर्गम गाउँ बस्तीमा सडक पुर्याउने उद्देश्यले हेलिकप्टरबाट डोजरका सामग्री ढुवानी गर्नुपरेको नगरप्रमुख केसीको भनाइ छ ।

आठबीसकोट नगरपालिकाभित्र ३ सय किलोमिटर सडक सञ्जाल रहेको र सबै ठाउँमा ट्रयाक खोल्ने काम अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ ।