६ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिए

७ पुष २०७८, बुधबार १६:३५

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश २ अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि बुधबार मतदान हुने भएको छ । प्रदेश निर्वाचन कमिटीअनुसार अब मतदान प्रक्रिया सुरू गर्न लागिएको हो ।

मतदान प्रक्रिया सुरू हुने भएपछि उम्मेदवारहरू मतदातासँग भोट माग्न व्यस्थ छन् । ७२ सदस्य प्रदेश समितिको लागि १७४ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रदेश निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम नामावलीअनुसार ७२ पदका लागि १७४ जनाको उम्मेदवारी परेको हो । ६ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रदेश सभापतिका लागि देउवा समुहबाट रौतहटका जिल्ला सभापति कृष्ण यादव र निधि–कोइराला समूहबाट प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले उम्मेदवारी दिएका छन् ।

दुई उपसभापतिका लागि पाँच जनाको उम्मेदवारी परेको छ । देउवा समूहबाट वीरेन्द्रप्रसाद सिंह र चन्द्रशेखर कुमार यादव र निधी–कोइराला समूहबाट धनलाल ठोकर र विनोदकुमार खनालले उम्मेदवारी दिएका हुन् । रामाधार प्रासद यादव भने स्वतन्त्र रूपमा उपसभापतिका लागि उम्मेदवारी दिएका हुन् ।

दुई महामन्त्रीका लागि पनि पाँच जनाको उम्मेदवारी परेको छ । निधि–कोइराला समूहबाट नरेश यादव र हरेश महतो र देउवा समूहबाट बृहस्पति कृष्ण श्रेष्ठ र उपेन्द्र कुमार यादवले उम्मेदवारी दिएका हुन् । विनोद चौधरीले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।

दुई सहमहामन्त्रीका लागि देउवा समूहबाट जयनारायण यादव र परशुराम चौधरी तथा निधी–कोइराला समूहबाट अरविन्द अमात्य र विनोद यादवले उम्मेदवारी दिएका छन् ।

महिलातर्फ एक सहमहामन्त्रीका लागि देउवा समुहबाट रीता यादव र निधि–कोइराला समूहबाट निर्मला सुवेदीले उम्मेदवारी दिएकी छिन् । त्यस्तै सहमहमन्त्री खुलाबाट दुई जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।