अन्तरजातीय विवाहको कारण बेपत्ता पारिएका युवा आठ दिनपछि भेटिए

७ पुष २०७८, बुधबार १२:२९

काठमाडौं । हुम्लामा अन्तरजातीय विवाह गरेपछि बेपत्ता पारिएका भनिएका युवक चन्द्रे कामी आठ दिनपछि भेटिएका छन् । चन्द्रले सुन्तली मल्लसँग प्रेम विवाह गरेका थिए । सुन्तलीको परिवारले लगेर चन्द्रलाई निर्घात कुटपिट गरेर बेपत्ता पारेको आरोप लागिरहेका बेला उनी फेला परेका हुन् ।

अन्तरजातीय युवतीसँग विवाह गरी युवक बेपत्ता पारेको विषय प्रहरीसम्म पुगेपछि जिल्ला प्रहरी कार्यालय हुम्लाले आफ्ना माताहतका प्रहरी चौकीलाई खोजी कार्य तीव्र पार्न निदेर्शन दिएको थियो ।

प्रहरीले खोजी तीव्र पारेपछि बुधबार विहान खार्पुनाथ प्रहरी चौकीले बेपत्ता पारिएका भनिएका चन्द्रेलाई फेला पारेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए ।

बाटोमा हिँड्दै गरेका क्रममा उनलाई खार्पु प्रहरी चौकीका सुरक्षाकर्मीले भेटाएको निरीक्षक भण्डारीले बताए । सर्केगाड गाउँपालिका–१ को जैर गाउँका १९ वर्षिय चन्द्रे र मुगु सोरु गाउँपालिका–४ को लिप्रु गाउँकी १९ वर्षीया सुन्तली मल्लसँग ५ मंसिरमा अन्तर जातीय विवाह गरेका हुन् ।