कांग्रेस सुधारको प्रक्रियालाई अगाडि बढाउने थप जिम्मेवारी ः डा. शेखर कोइराला

२ पुष २०७८, शुक्रबार १२:४८

 

काठमाण्डौ । ​नेपाली कांग्रेसको सभापतिमा पराजित नेता डा. शेखर कोइरालाले चुनाव हारे पनि प्रतिनिधि र लोकतन्त्रवादीहरुको मन जित्न सफल भएको बताएका छन्।

आज प्रेस विज्ञप्ति निकालेर उनले पार्टीमा यथास्थिति चाहने सबैको अपवित्र गठजोडविरुद्ध लडेको र राजनीति जितेको बताएका हुन् । साथै नेता कोइरालाले कांग्रेस सुधारको प्रक्रियालाई अगाडि बढाउने थप जिम्मेवारी पनि आफ्नो काँधमा आएको उल्लेख गरे ।

प्रतिनिधि तथा शुभेच्छुकबाट पार्टीलाई रुपान्तरण गर्ने र नयाँ ढङ्गले चलाउन चाहिने गरी ४० प्रतिशत मत प्राप्त भएको र यो मतबाट आफू भावविभोर भएको कोइरालाको भनाइ छ । विज्ञप्तिमा पार्टीको आन्तरिक निर्वाचनमा जय र पराजयलाई स्वाभाविक रुपमा लिएको तथा परिवर्तनको पक्षमा उभिएकाले मत परिणामबाट धेरै उत्साही र धेरै हतोत्साही नहुने उल्लेख छ ।

साथै उनले सभापति शेरबहादुर देउवाको कार्यकालमा पार्टी पुनर्स्थापित हुने विश्वास पनि व्यक्त गरेका छन् ।