ज्ञात अज्ञात सहिदको सम्मानका लागि मौनधारण

२८ मंसिर २०७८, मंगलवार १५:०४

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरूले नाराबाजी गरिरहेका बेला मौनधारण गरिएको छ ।

राष्ट्रपति कार्यालयबाट संसदको १०औँ अधिवेशन सुरु भएको पत्र सभामुख अग्निप्रसाद सापकोटाले वाचन गरेलगत्तै एमाले सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका बेला मौनधारणका लागि आग्रह गरिएको थियो ।

सभामुख सापकोटाले ज्ञात अज्ञात सहिदको सम्मानका लागि मौनधारण गर्ने बताएपछि नाराबाजी रोकेर एमाले सांसदले पनि मौनधारण गरेका थिए ।

एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले संसद् अवरुद्ध गर्दै आएका छन् । संसदको नवौँ अधिवेशनका सबै बैठकमा एमाले सांसदहरूले नाराबाजी गरेका थिए ।

मंगलबारबाट सुरु भएको १०औँ महाधिवेशनको पहिलो बैठकमा पनि उनीहरुले नाराबाजी गरेका हुन् ।
नाराबाजीकै बीच सभामुखले संसद्को कारबाही अघि बढाएका थिए । केही अध्यादेशहरु संसद्मा पेश भएका छन् । यस्तै अर्को बैठक अब पुस ६ गते बस्ने भएको छ ।