नेपाली काँग्रेसको उदघाटन समारोहको मुख्य मञ्च यस्तो छ हेर्नुस्

२४ मंसिर २०७८, शुक्रबार १२:३८

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । भृकुटीमण्डपमा दिउँसो एक बजे उदघाटन समारोह हुनेछ । भृकुटीमण्डपलाई कांग्रेसको चारतारे झण्डा र चुनाव चिह्न रुख अंकित झण्डाले सजाइएको छ ।

अहिले उदघाटन समारोहको मुख्य मञ्च व्यवस्थापनको काम जारी छ । मञ्चमा एक सय बढी अटाउने गरी व्यवस्थापन गरिएको छ । उदघाटन समारोहमा सहभागी हुनेहरुका लागि मञ्चको सामुन्ने कुर्सीहरु राखिएको छ ।

भृकुटीमण्डप अगाडिको सडक प्रदर्शनीमार्गमा समारोह प्रत्यक्ष हेर्न मिल्ने डिजिटल डिस्प्ले राखिएको छ । प्रदर्शनीमार्गमा सवारी साधनहरुलाई प्रवेश निषेध गरेर पैदलयात्रुहरुका लागि मात्र खुल्ला गरिएको छ । कांग्रेसको प्रचार समितिले काठमाडौंका बिभिन्न स्थानमा स्वागतद्वार निर्माण गरेको छ ।

महाधिवेशनलाई लक्षित गरी ३५० ट्राफिक प्रहरीहरुसहित नेपाल प्रहरीको पाँच हजार बढी जनशक्ति परिचालन गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।