
काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले १४ औं महाधिवेशनमा पदाधिकारीसहित केन्द्रीय सदस्यमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेकी छन् । नेत्री कोइरालाले बिहीबार एक अपील सार्वजनिक गर्दै ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्ने आफ्नो अभियानमा साथ दिन समेत भनेकी छन् ।
पदाधिकारीमा महिलाको कम्तिमा ३३ प्रतिशत सुनिश्चितता हुनुपर्छ । संविधानमै महिलाको एक तिहाई सहभागिताको सुनिश्चिता गरेको सर्वविदितै छ । यस परिप्रेक्ष्यमा नेपाली काँग्रेसले पदाधिकारीमा ३३ प्रतिशत सुनिश्चितता गर्नुपर्दछ ।
केन्द्रीय सदस्यमा पनि ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्नुपर्दछ’, कोइरालाले भनेकी छन्, ‘यो विधानमै व्यवस्था गरेर जानुपर्दछ ।’
उनले यो कदमले काँग्रेसको उचाई अझ बढ्नजाने भन्दै पार्टी नेतृत्वले यसबारे तत्काल निर्णय लिनपर्ने पनि बताएकी छन् ।म नेपाली काँग्रेसका महिला र पुरुष साथीहरु र नेपाली काँग्रेसका शुभेच्छुकहरु पदाधिकारीलगायत केन्द्रीय सदस्यमा ३३ प्रतिशतको सुनिश्चितता गर्न पार्टी नेतृत्वमाथि दबाब सृजना गर्न अपिल गर्दछु ।
पार्टी विधानमै महिलाको पदाधिकारीसहित केन्द्रीय कमिटीमा ३३ प्रतिशत सुनिश्चितताका लागि मेरो अभियानमा साथ दिन आग्रह गर्दछु’कोइरालाले भनेकी छन् ।
साथै उनले यो अभियान नेपाली काँग्रेसभित्र लैङ्गिक समानताको सुनिश्चितता मात्र नभई पार्टीलाई अझ प्रभावकारी र सशक्त बनाउनका लागि पनि भएको दावी गरेकी छन् ।
