पूर्वराजा ज्ञानेन्द्रको नांगो हस्तक्षेप राप्रपाको राजनीतिमा, कमल थापा ।

२३ मंसिर २०७८, बिहीबार ११:४३

 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को हालै सम्पन्न एकता महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि शृंखलावद्ध आरोप लगाइरहेका छन्। थापाले चुनावमा पराजय भोग्नेबित्तिकै निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्रलाई ट्वीटरबाट ‘धन्यवाद’ नै दिएका थिए।

थापाले यो क्रमलाई सोमबार पनि जारी राखे। उनले पूर्वयुवराज्ञी हिमानी शाहको नाममा खोलिएको ट्वीटर अकाउन्टमा पनि आक्रोश पोखेका थिए।
निर्मल निवास र ज्ञानेन्द्रलक्षित अभिव्यक्तिलाई मंगलबार पनि थापाले जारी राखेका छन्। बुधबार बस्ने निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकमा थापानिकट नेताहरूले निर्मल निवासको भूमिका र हस्तक्षेपबाट कुरा उठाउने भएका छन्।

भोलि पहिलो बैठक बोलाइएको छ, त्यहाँ हामी पार्टीको आन्तरिक चुनावमा निर्मल निवासको हस्तक्षेपबारे सशक्त ढंगले कुरा उठाउँदैछौं,’ थापानिकट निर्वाचित केन्द्रीय सदस्य राजाराम बर्तौलाले भने।

ज्ञानेन्द्र र निर्मल निवाससँग आक्रोश पोख्ने क्रममा थापाले मंगलबार वक्तव्य जारी गरेका थिए। थापाले वक्तव्यमा भनेका थिए, ‘केन्द्रीय नेतृत्वको निर्वाचनमा निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्रको नांगो हस्तक्षेपको भने म घोर भत्सर्ना र निन्दा गर्दछु।’

उनले राप्रपाको आन्तरिक राजनीतिमा ज्ञानेन्द्रले हस्तक्षेप गरेको यो पहिलो घटना नभएको बताएका छन्। २०७४ सालमा पार्टी फुटाउन र विगत केही समययता ‘भजन मण्डली’ खडा गरेर पार्टी नेतृत्वको चरित्र हत्या गर्ने काम गरेको आरोप निर्मल निवासलाई लगाएका छन्।

नेताहरूका अनुसार पार्टी एकता भएपछि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनअघि राप्रपामा चुनाव चिन्ह ‘हलो’ वा ‘गाई’ राख्ने विषयमा विवाद भएको थियो। त्यो विवाद हुँदा पार्टी फुटेको थियो।

राप्रपा फुट्दा थापाले पार्टीको बैठकमै भनेका थिए ( निर्मल निवासले पार्टी फुटाउन भूमिका खेल्यो।
एकता महाधिवेशनको उद्घाटन सत्रमा पनि थापाले आफ्नो मन्तव्य राख्दा निर्मल निवासले पार्टीको आन्तरिक राजनीतिमा अनावश्यक चासो नराखोस् भनेका थिए।

बर्तौलाका अनुसार थापाले त्यति भनेपछि निर्मल निवासले निर्वाचनमा चासो नराख्ला भन्ने अपेक्षा गरिएको थियो।
तर, मतदानअघि निर्मल निवासबाट ज्ञानेन्द्रका सचिवहरूले फोन गरेर थापालाई भोट नहाल्न अनुरोधदेखि आश्वासनसम्म दिएको बर्तौलाले दाबी गरे।

बर्तौलाका अनुसार शीर्ष तहका नेतालाई सचिवहरूले फोन गरेर आग्रह अनुरोध गरेका थिए। तल्लो तहका मतदातालाई आश्वासन र लोभ देखाएका थिए।
‘उहाँले निर्मल निवासले नखेलोस् भनेर भन्नुभएकै थियो, तर सचिवहरूले त्यसलाई जारी राखे,’ बर्तौलाको दाबी छ।

थापाले जारी गरेको वक्तव्यमा पूर्वराजा र निर्मल निवासले हस्तक्षेप गरेका यथेष्ट प्रमाणहरू सुरक्षित रहेको भनिएको छ।
‘कतिपय मतदाताले हामीलाई सुनाएका पनि छन्, हामीसँग रेकर्ड पनि छन्,’ बर्तौलाले भने, ‘आवश्यक परे हामी ती प्रमाणहरू बाहिर ल्याउँछौं।’
थापाले वक्तव्यमा पनि त्यस्ता प्रमाण सुरक्षित रहेको उल्लेख गरेका छन्।

‘अहिले शतप्रतिशत राजावादीहरू भएको पार्टीमा त राजाको ठाडो र फोहरी हस्तक्षेप (यस सम्बन्धी यथेष्ट प्रमाण हामीसँग सुरक्षित छ) हुन्छ भने भोलि राजसंस्था स्थापित हुँदा अन्य पार्टी र राजनीतिमा राजाको हस्तक्षेप हुँदैन भनेर भन्ने हाम्रो नैतिक धरातल समाप्त भएको छ। विगतमा झैं राजाबाट प्रजातन्त्र र प्रजातान्त्रिक संस्थामा हस्तक्षेप हुँदैन भनेर अब हामीले कुन मुखले भन्ने,’ थापाको वक्तव्यमा उल्लेख छ।