समान विचार भएका पार्टी तथा समूहहरूसँग एकता प्रक्रिया अघि बढाउने

२२ मंसिर २०७८, बुधबार १५:५७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समान विचार भएका पार्टी तथा समूहहरूसँग एकता प्रक्रिया अघि बढाउने भएको छ । एकता महाधिवेशनपछि पार्टीको पहिलो केन्द्रीय समितिको बैठकले समान विचार भएकाहरूसँग वार्ता गर्नका लागि महामन्त्री धवल शमशेर राणाको संयोजकत्वमा वार्ता समिति गठन गरेको हो । समितिमा राणासहित सदस्यहरूमा ऋषि बाबु परियार, दिल विकास राज भण्डारी, पुष्पराज पुरुष र सीता ज्ञवाली रहेका छन् ।

त्यस्तै पाटीले महामन्त्री भुवन पाठकको नेतृत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति पनि गठन गरेको छ । समितिका सदस्यहरूमा भक्ति प्रसाद सिटौला, भरतजंग उप्रेती र सदस्य सचिव डा.गीताभक्त जोशी छन् ।

यता उपाध्यक्ष ध्रुव बहादुर प्रधानको संयोजकत्वमा मर्यादाक्रम निर्धारण समिति पनि गठन गरिएको छ । यसमा डा. राजेश गिरि र भरत पाठक सदस्यहरू छन् । महामन्त्री कुन्ती कुमार शाहीको नेतृत्वमा गठन गरिएको लेभी निर्धारण समिति गरिएको छ ।

बैठकले सबै प्रदेश तथा जिल्ला सबै निकायको बैठक पुस महिना भित्र गरिसक्ने निर्णय गरेको छ । साथै सबै भ्रातृ सङ्गठनहरूको अधिवेशन ३ महिनाभित्र सम्पन्न गर्न सङ्गठनलाई निर्देशन पनि दिएको छ ।