
काठमाण्डौं । नेपालमा एकसाथ तीनवटा मौसम प्रणालीको प्रभाव कायमै छ। जसका कारण देशका विभिन्न स्थानमा मौसम बदली, वर्षा, हिमपात तथा चिसो बढ्ने क्रम जारी रहेको मौसमविद्ले बताएका छन्।
मौसमविद्का अनुसार हाल नेपालको मौसममा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली, अरब सागरमा बनेको न्यून चापीय क्षेत्र र आसपासमा रहेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव छ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे प्रकाशन गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पहाडी भेगका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
साथै सो प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा धेरै स्थानमा मध्यमदेखि भारी हिमपातको पनि सम्भावना छ।बुलेटिनअनुसार राति पनि देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पहाडी भेगका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने तथा यी प्रदेशका उच्च पहाडी र हिमाली भेगका धेरै स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना छ।
मौसमविद् समीर श्रेष्ठका अनुसार यस क्रममा आज साँझतिर काठमाडौं उपत्यकामा पनि हल्का वर्षा हुने सम्भावना देखिएको छ। उनका अनुसार आज बिहान गरिएको मापनअनुुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस छ। हिजो भने काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षअन्तर्गत मंगलबार (मंसिर १४) सम्मकै कम ६.३ डिग्री सेल्सियस पुगेको थियो।
