अध्यक्षको लागि रावल र ओलीको प्रतिस्पर्धा

१३ मंसिर २०७८, सोमबार १४:५५

काठमाण्डौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा अध्यक्षको लागि केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दिएका छन् ।
सर्वसम्मत अध्यक्षको लागि प्रयास गरे पनि रावलले अस्वीकार गरेपछि ओली रावलसँग प्रतिस्पर्धा गर्न बाध्य भएको हो ।आज चुनावी प्रक्रिया सुरु भएलगत्तै रावलले अध्यक्षमा उम्मेदवारी दिएका थिए । त्यसपछि ओलीले पनि अध्यक्षमा उम्मेदवारी दिएको हो ।

ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शङ्कर पोखरेल रहेका छन् । गएराति मध्य रातसम्म सहमतिको कोसिस गरे पनि लोकतान्त्रिक प्रक्रियाभन्दा बाहिर गएर भएको निर्णयमा आफ्नो असहमति रहने भन्दै रावलले विधि र प्रक्रियाको कुरा उठाएपछि ओलीको सर्वसम्मत बन्ने प्रयासमा धक्का लागेको छ ।

सर्वसम्मतिको प्रयास भएकाले हिजै हुनुपर्ने चुनावी प्रक्रिया आज बिहान सुरु भएको हो । संशोधित तालिकाअनुसार उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन बिहान ११ बजेर ४० मिनेटमा हुने भनिएको छ । आज बेलुकी ९ बजेदेखि भोलि बिहान ३ बजेसम्म मतदान हुनेछ ।