आचार्य र कार्कीको उम्मेदवारीसँगै एमाले सचिवका लागि पनि चुनाव हुने

१३ मंसिर २०७८, सोमबार ११:४७

 

काठमाण्डौं । नेकपा एमालेको दसौं महाधिवेशनबाट सचिव पदका लागि नेता टंक कार्कीले उम्मेदवारी दिएका छन्।

सोमबार बिहान कार्कीले सचिव पदका लागि उम्मेदवारी दर्ता गरेका हुन्। कार्कीले यसअघि नै सचिवमा आफ्नो दाबेदारी पेस गरेका थिए।

अध्यक्ष केपी शर्मा ओलीले मंसिर १२ गते साँझ सर्वसम्मतिका लागि भन्दै पेस गरेको सूचीमा कार्कीको भने नाम केन्द्रीय सदस्यमा पनि समावेश छैन।

विद्यार्थी राजनीतिबाट नेकपा एमालेमा प्रवेश गरेका कार्की चीनका लागि पूर्वराजदूत समेत हुन्। एमालेभित्र कार्कीलाई बौद्धिक क्षमता भएको नेताका रूपमा चिनिन्छ।

यो भन्दा पहिले ओलीले सचिवका लागि तयार पारेको सूची भने टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम रहेको छ। उक्त नाममा असन्तुष्टि जनाउँदै नवौं महाधिवेशनबाट सचिव बनेका भीम आचार्यले पनि फेरि सचिवमै उम्मेदवारी दिएका छन्।

आचार्य र कार्कीको उम्मेदवारीसँगै एमाले सचिवका लागि पनि चुनाव हुने भएको छ।