नयाँ एकता कायम गरेर मुलुकलाई दिगो शान्ति र रुपान्तरणको दिशामा अघि बढाउने

१२ मंसिर २०७८, आईतवार १४:२५

 

काठमाण्डौं । जनता समाजवादी पार्टी नेपालका संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नयाँ एकता कायम गरेर मुलुकलाई दिगो शान्ति र रुपान्तरणको दिशामा अघि बढाउन आवश्यक रहेको बताएका छन् ।

जनता समाजवादी पार्टी रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले त्यो कुरा बताएका हुन् । भट्टराईले भने, ‘राजनितिक शक्तिहरु बीचमा नयाँ ढंगले एकता कायम गरी अगाडि बढ्नु नै अहिलेको उत्तम विकल्प हो ।’

भट्टराईले देशको सम्बृद्धि र जनताको जीवन परिवर्तनका लागि बैकल्पिक शक्ति निर्माण गर्नु अहिलेको आवश्यकता भएको बताए । अहिलेको अवस्थामा केन्द्रिय समाजवादी शक्ति निर्माण गर्न सके मात्रै देशले निकास पाउने भट्टराईको भनाई थियो । भट्टराईले अहिले अदालतमा देखिएको संकट राजनीतिक दलहरु बीचमा देखिएको खिचातानीको परिणाम भएको हुन् बताए ।

काँग्रेस जति पटक सत्तामा पुगे पनि परिवर्तनको अपेक्षा गर्न नसकिने बताउँदै भट्टराईले मुलुक परिवर्तनका लागि अग्रगामी शक्तिको आवश्यक पनि बताए । सो पार्टीका वरिष्ठ नेता अशोक राईले जनताको जीवनस्तर परिवर्तनका लागि चार महिने संगठन सुदृढीकरण अभियान सञ्चालन गरेको पनि बताए । मंसिर महिनासम्म सञ्चालन हुने अभियानमा जनताका माझमा आफ्ना विचार प्रस्तुत गर्ने र जनताका विचार बुझ्ने काम भइरहेको नेता भट्टराईले बताए।