पुनको स्वास्थ्यमा सुधार नभएपछि

१० मंसिर २०७८, शुक्रबार १०:५७

 

काठमाण्डौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनलाई थप उपचारका लागि चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनसेज लगिएको छ । विश्मै विरलै देखिने जटिल प्रकृतिको जण्डिसले सताएका कारण विगत डेढ महिनादेखि बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत थिए । ​पूर्वअर्थ तथा ऊर्जामन्त्री समेत रहेका पुनको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि चीन लगिएको उनका पूर्व स्वकीय सचिव तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गा चापागाँईले जानकारी दिए छन् ।

नेता पुनसँगै पूर्वसभामुख तथा उनकी पत्नी ओनसरी घर्ती र छोरी शीला बैंककबाट चीनको सेनजेन उडेका हुन् । उनीहरु आजै मध्यान्ह अस्पताल पुगेर उपचार सुरु हुने चापागाँईले जानकारी गराए । ​समितिभेज अस्पतालमा उपचार गरिरहेका चिकित्सकहरुले उल्लेख्य सुधार नदेखिएकाले उपचारका लागि सेनजेन लैजान सुझाव दिएका थिए ।सो अनुरुप काठमाण्डौंबाट बैंकक लैजाँदा जण्डिस बिलरुविनको तह १८ रहेको उपचारका क्रममा बढेर अहिले २२ पुगेको देखिएको छ । जण्डिससँगै शरिरका अन्य अंगहरुमा पनि त्यसको असर देखिन थालेपछि नेता पुनलाई चीन लैजानु परेको चापागाईँले बताए ।

बंशाणुतग रूपमा रहेको जण्डिस दोहरिएपछि नेता पुन असोज १३ गते बैंककतर्फ लागेका थिए । नेपालमा हुँदा ललितपुरस्थित सुमेरु अस्पताल र यसअघि ग्राण्डी अस्पतालमा परिक्षण गराएका नेता पुन चिकित्सकहरूको परामर्श र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको सल्लाहमा बैंकक गएका थिए ।

यसअघि जण्डिसकै कारण स्वास्थ्य अवस्था निक्कै गम्भीर भएका बेला नेता पुनको सोही अस्पतालमा उपचार भएको थियो । उनी नेपालका ग्राण्डी लगायतका अस्पताल र भारतको एपोलो अस्पतालमा समेत उपचार गराउँदा निको नभएपछि बैंकक गएका हुन््् । उपचारपछि निरन्तर फलोअपमा नगएका कारण नेता पुनलाई जण्डिस दोहोरिएको थियो ।