नेपाली काँग्रेस कर्णाली प्रदेशका १० मध्ये आठ जिल्लामा नेतृत्व चयन

९ मंसिर २०७८, बिहीबार १२:०५

 

 

काठमाण्डौं । नेपाली काँग्रेस कर्णाली प्रदेशका १० मध्ये आठ जिल्लामा नेतृत्व चयन गरिएको छ । काँग्रेसले बुधबारसम्म सुर्खेत र दैलेख बाहेकका अन्य जिल्लाको अधिवेशन सम्पन्न गरेको छ । यी दुई जिल्लामा भने शुक्रबार जिल्ला अधिवेशन गदैछ ।

जिल्ला अधिवेशन सम्पन्न भएका जिल्लामा जाजरकोटमा वेदराज सिंह, सल्यानमा केशबहादुर विष्ट, रुकुम पश्चिममा प्रेमप्रकाश ओली, कालिकोटमा अमरबहादुर शाही, जुम्लामा कर्णबहादुर शाही, डोल्पामा दीपेन्द्रबहादुर शाही, हुम्लामा मोहनविक्रम सिंह र मुगुमा ऐनबहादुर शाही सभापति पदमा चयन भएका छन् । कर्णालीका सबै जिल्लामा पार्टीको आसन्न १४ औँ महाधिवेशनमा भाग लिने प्रतिनिधिकोसमेत टुङ्गो लागिसकेको छ ।

काँग्रेस सुर्खेतका सहायक निर्वाचन अधिकृत अधिवक्ता दुर्गाप्रसाद सापकोटाले शुक्रबार सात पदाधिकारीसहित जिल्ला कार्य समितिका सदस्य चयन हुने बताए हुन । उनको भनाई अनुसार सभापति एक, उपसभापति, सचिव, सहसचिव दुई÷दुई जना, भूगोल, खुला र समावेशी क्षेत्रबाट कार्य समिति सदस्य निर्वाचित भएर आउनुपर्ने जानकारी दिए ।

त्यस्तै दैलेखमा पनि शुक्रबार जिल्ला अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको छ । जिल्ला अधिवेशनपश्चात् यही मङ्सिर १६ र १७ गते प्रदेश अधिवेशन हुने भएको छ । प्रदेश अधिवेशन सम्पन्न गर्न काँग्रेसले यसअघि नै पार्टी केन्द्रीय समितिसमेत रहनुभएका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई संयोजक तोकिसकेको हो ।