दशौं महाधिवेशनबाट केपी ओली नै पार्टीका अध्यक्ष बनेर आउने दाबी

८ मंसिर २०७८, बुधबार १६:०९

काठमाण्डौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले सूचना प्रविधिमार्फत एमाले र यसका नेताविरुद्ध छरिएका भ्रम छर्न र भ्रम सिर्जना गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउन एउटा संगठन महसुस गरी एमालेले ‘साइबर सर्कल’ बनाउने निर्णय गरेको बताए ।

बुधबार ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले सिर्जनशील र रचनात्मक हुन साइबर सर्कलका सदस्यलाई सुझाव दिएका छन । एक वर्ष अघि साइबर सेना घोषणा गर्दा विपक्षमा आतंकको अवस्था आएको भन्दै बस्नेतले संगठनको नाममा ‘सेना’ जोड्नु द्धन्द्धको प्रतिक हुने भन्ने सुझाव आएका कारण साइबर सेनालाई साइबर सर्कलका रुपमा परिमार्जन गरिएको जानकारी दिए ।

बस्नेतले सूचना प्रविधिलाई दुरुपयोग गरेर एमालेका नेताहरुको मानमर्दन गर्नेदेखि लिएर भ्रम छर्ने काम भएको गुनासो पनि गरेका थिए । त्यस्ता गतिविधिविरुद्ध प्रत्याक्रमणका लागि साइबर सर्कल घोषणा गरिएको उनको भनाइ छ ।

उनले दशौं महाधिवेशनबाट केपी ओली नै पार्टीका अध्यक्ष बनेर आउने दाबीसमेत गरेका छन् । आगामी निर्वाचनमा ओलीकै नेतृत्वमा एमालेले बहुमत ल्याउने र सरकारको नेतृत्व पनि ओलीले नै गर्ने बताएका छन् ।