नेपालले ओलीलाई सूर्य चिन्हको धाक नलगाउन चेतावनी दिए

८ मंसिर २०७८, बुधबार १२:३१

 

 

काठमाण्डौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको प्रदेश र धनुषा जिल्ला कार्यालयको उद्घाटन गरेका छन् । बुधबार जनकपुरधाममा एकीकृत समाजवादी प्रदेश न. २ को कार्यालय तथा धनुषा जिल्ला कार्यालयको उद्घाटन गर्दै अध्यक्ष नेपालले केपी शर्मा ओली अहिले अत्यन्तै छट्पटाइरहेको टिप्पणी गरेका हुन् । उनले ओलीले जथाभावी बोलेर आफ्नो असली चरित्र देखाइरहेको पनि बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले भने, ‘केपी ओली अत्यन्तै छटपटिएर अन्टसन्ट बोलिरहेका छन् । उहाँलाई अन्टसन्ट बोल्न दिनुस् मलाई बोल्नु छैन । गाली गर्न दिनुस्, म गाली गलौज गर्दिन । किनकी उहाँले आफ्नो चरित्र देखाइरहनु भएको छ । हामी राम्रो चरित्र संस्कार देखाउँछौँ ।’

उनले सात वटा प्रदेश मध्ये दुई वटा प्रदेशमा पार्टी नेतृत्वको सरकार रहेको भन्दै संघीय सरकारमा समेत बलियोरुपमा उपस्थिति रहेको बताए ।
उनले प्रदेश न.२ मा समेत ओलीको एमाले पार्टी भन्दा आफ्नो पार्टी अब्बल रहेको बताउँदै नेपालले ओलीलाई सूर्य चिन्हको धाक नलगाउन पनि चेतावनी दिएका हुन् । ‘अब सूर्य चिन्हको धाक नदेखाए हुन्छ, सूर्यमा ग्रहण लागिसकेको छ भन्दैै नेपालले ‘अब कलम चम्किरहेको छ । सत्य र न्यायको सन्देश दिइरहेको पनि बताए ।’