
काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीनै तहको निर्वाचन एकैपटक गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक भएको बताए ।
बुधबार धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले तीनै तहको निर्वाचन एकैपटक गर्नुपर्ने आवाज उठ्न थालेपछि प्रधानमन्त्री देउवासँग छलफल गरेका थिए ।
‘प्रधानमन्त्री पनि त्यस विषय प्रति सकारात्मक हुनुहुन्छ, सकेसम्म एकैपटक गर्छौं,’ प्रचण्डले भने, ‘सबै तहसँग छलफल गरेर उपयुक्त निष्कर्षमा पुगिने छ,’ प्र्रचण्डले भने ।
पटक–पटक चुनाव गर्दा राज्यलाई खर्च भार बढ्ने र जनतालाई पनि दिक्क लाग्ने भएको हुँदा सबै चुनाव एकैपटक गर्नुपर्ने माग आउन थालेको बताए ।
साथै उनले नेपाली कांग्रेसका केही नेताले ‘महाधिवेशनमा भोट पाउन मात्रै गठबन्ध हुँदैन’भन्ने गरे पनि आन्तरिक रुपमा सबैले गठबन्धन चाहेको र पाँच दलीय गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्मै कायम रहने पनि दाबी गरेका छन् ।
‘कांग्रेस महाधिवेशनमा भोट बढी आउला भनेर केही नेताले गठबन्धन हुँदैन भन्ने गरेका छन्, ‘तर भित्री रुपमा गठबन्धन नगरी हुँदैन भन्ने ती नेताले पनि राम्ररी बुझेका छन्, त्यस कारण तीनै तहको निर्वाचन सम्म गठबन्धन हुन्छ, त्यसका लागि अहिले सवै दलबीच राम्रो समझ्दारीभएको छ ।’
पाँच दलीय गठबन्धनलाई थप बलियो बनाउन राजनीतिक संयन्त्र गरेको भन्दै प्रचण्डले राष्ट्रिय सभाको रिक्त पदमा पाँच दलीय गठबन्धनले तालमेल गर्ने पनि बताएका छन् । ‘राष्ट्रिय सभाको निर्वाचनमा पाँच दलले संयुक्त उम्मेदवार बनाउने पक्का भएको हो ।’ अध्यक्ष प्रचण्डले भने, ‘त्यो तालमेल आगामी अन्य चुनावका लागि पनि बलियो आधार बन्ने छ ।’
