देउवा पक्षका कार्यकर्ताले पौडेल पक्षको उम्मेदवारको भाँचे नाकको हड्डी

४ मंसिर २०७८, शनिबार १५:११

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश सभा क्षेत्रीय समितिका लागि भएको निर्वाचनका क्रममा रुपन्देहीमा मतगणना स्थलमा आक्रमण हुँदा एकजना घाइते भएका छन् ।

प्रदेश सभा ३ (१) को मतगणना भैरहेको अवस्थामा भैरहवामा राति दुई बजे मुख छोपेर आएका केही युवाहरूले आक्रमण गर्दा शैलेश पन्त घाइते भएका हुन् । उनको नाकको हड्डी फ्याक्चर भएको छ । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको कांग्रेस नेता मातृका यादवले जानकारी दिए ।

मतगणनामा पौडेल पक्षबाट प्यानल नै बनाएर प्रदेश सभा क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएका पुरनप्रसाद श्रेष्ठको टिमले अग्रता लिँदै गरेको अवस्थामा देउवा पक्षका कार्यकर्ताले जेनेरेटर बन्द गराएर पाँच जनामाथि हातपात र कुटपिट गरेको यादवले बताए ।

घाइते पन्त मंसिर ६ गते हुन गइरहेको प्रतिनिधि सभा क्षेत्रीय सचिव पदका उम्मेदवार हुन् । आक्रमण भएपछि मतगणना स्थगित भएको छ । मतगणनामा हार्ने निश्चित भएपछि तरुण दल रुपन्देहीका अध्यक्ष सोमबहादुर गुरुङको नेतृत्वमा आक्रमण भएको सभापतिका उम्मेदवार पुरनप्रसाद श्रेष्ठले बताए ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले गृहमन्त्री बालकृष्ण खांणको आडमा उनका भाइसमेत रहेका पार्टी सचिव रामकृष्ण खांणको निर्देशनमा आक्रमण भएको आरोप लगाएको छ ।

मतगणना चलिरहेका बेला संस्थापन पक्षले हार्ने देखिएपछि तरुण दल रुपन्देहीका अध्यक्ष सोमबहादुर गुरुङको नेतृत्वमा शैलेश पन्त लगायतमाथि आक्रमण गरिएको पौडेल पक्षको दावी छ । आक्रमणबाट घाइते पन्त प्रतिनिधि सभा क्षेत्रीय सचिव पदका उम्मेदवार हुन् । उनको नाकको हड्डी भाँचिएको छ ।

उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । पौडेल पक्षले लुम्बिनी प्रादेशिक अस्पतालमै पत्रकार सम्मेलन गरी पुनः मतदान गर्न र आक्रमणमा संलग्नमाथि कानूनी कारवाही गर्न माग गरेको छ । प्रदेश सभा क्षेत्रीय सभापतिका उम्मेदवार पुरनप्रसाद श्रेष्ठले मतगणना अन्तिम अवस्थामा पुगेको बेला हार्ने निश्चित भएपछि राति साढे २ बजेतिर जेनेरेटर बन्द गरी आक्रमण गरिएको बताए ।

‘निर्वाचन जसरी पनि आफ्नो पक्षमा पार्नुपर्छ भन्ने कलुसित मनसायले सत्ता र शक्तिको चरम दुरुपयोग गर्दै कार्यकर्ताहरुमा डर त्रास र लालच देखाउने काम भएको छ’ पुर्व जिल्ला सभापति रामचन्द्र ढकाल, रुपन्देही–३ क्षेत्रीय सभापति मातृका यादव र प्रदेश सभापति पुरनप्रसाद श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ‘आफ्नो पक्षमा नभएका कार्यकर्तालाई हतोत्साहित बनाई पार्टी कब्जा गर्ने मनसायले नियोजित रुपमा आक्रमण भएको हो ।’