
काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई संसदको मतदानमा लैजान तयार भएका छन् । सम्भवतः सत्तारुढ नेपाली कांग्रेसको महाधिवेशनपछि बस्ने संसद बैठकमा एमसीसी सम्झौतामाथि मतदान हुनेछ ।
एमसीसी सम्झौता साढे २ वर्षदेखि प्रतिनिधिसभामा विचाराधीन छ । ३० असार २०७६ मा संसद सचिवालयमा दर्ता भएको यो सम्झौता संसदीय अनुमोदनमा लागि भन्दै पछिल्लो पटक थपेको म्याद मंसिर २८ (डिसेम्बर १४) मा सकिँदैछ ।
भदौमा नेपाल आएकी एमसीसी उपाध्यक्ष फातिमा सुमारले नेपालका लागि यो अन्तिम मौका हो भनेर फर्किएकी थिइन । तर पछिल्लो पटक प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यसबारे सहमति खोज्न समय चाहिएको भन्दै एमसीसीलाई पत्र समेत लेखेका थिए । सम्झौताको म्याद सकिने अवधि नजिकिँदै जाँदा अमेरिकाले निर्णय लिन नेपालमाथि दबाव बढाएको छ ।
नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले प्रमुख दलका नेताहरुलाई भेटेर एमसीसीसबारे छिटो निर्णय लिन आग्रह गरेका छन् ।
बालुवाटार स्रोतका अनुसार अमेरिकी सहायकमन्त्री काठमाडौं आइपुगेकै दिन बिहीबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच एमसीसीबारे छलफल भएको थियो । प्रधानमन्त्री निकट स्रोत भन्छ, ‘एमसीसीको पक्षमा उभिने कि विपक्षमा केही भन्नुभएको छैन । तर संसदको प्रक्रियामा लैजान उहाँ (प्रचण्ड) सहमत हुनुभएको छ ।’
