भुटानलाई यसरी कब्जा गर्दै छ चीन, हेर्नुहोस् नक्सा

३ मंसिर २०७८, शुक्रबार ०८:३२

एजेन्सी ।

चीनले भुटानको जमीनमा चारवटा गाउँ बनाएको भूउपग्रह तस्वीरहरूले देखाएका छन् ।

ती गाउँ दोक्लम नजिक छन् र त्यसको ठीक मुनि भारतको चिकेन नेक छ ।

सन् २०२० र २१ मा दोक्लम नजिक यी गाउँहरू भुटान र चीनबीचको विवादित क्षेत्रमा गाउँ बनाइएको हो ।

ओपन सोर्स इन्टेलिजेन्स डेट्रेस्फाले दोक्लम नजिकको विवादित क्षेत्रमा गरिएको निमार्णको भूउपग्रहीय तस्वीर सार्वजनिक गरेको हो ।

चीनका यी नयाँ गाउँहरू १०० किलोमिटर क्षेत्रमा फैलिएका छन् ।

चीनले चारवटा गाउँ बनाएको यसबाट देखिन्छ । चीनले त्यहाँ व्यापक संख्यामा सैनिकहरू तैनाथ गरेको छ ।

भुटानको सुरक्षा जिम्मेवारी भारतमाथि भएकाले चिनियाँ गाउँका विषयमा प्रश्न उठेका छन् ।

चीनको गाउँले भारतको सुरक्षाका लागि खतरा उत्पन्न भएको छ । यो ठाउँ भारतको चिकेन नेक अर्थात् सिलिगुडी कोरिडोर नजिक छ ।

चिकेन नेक भौगोलिक अवस्थिति, आर्थिक महत्त्व र अन्तर्राष्ट्रिय पहुँचका कारण विशेष छ । यो क्षेत्र अन्तर्राष्ट्रिय सीमाले घेरिएको छ । नेपाल, बंगलादेश, भुटान र चीन त्यहाँबाट नजिकै पर्छन् । त्यहाँबाट तिब्बतको चुम्बी उपत्यका जम्मा १३० किलोमिटर टाढा छ ।