चीनले किन भारतको अरुणाञ्चल कब्जा गर्न खोजिरहेको छ ?

३ मंसिर २०७८, शुक्रबार ०८:०६

एजेन्सी ।

चीनले भारतको अरुणाचल प्रदेशलाई नचिन्ने र त्यो दक्षिण तिब्बत भएको बताउने गरेको छ । अरुणाचल प्रदेश फिर्ता लिने संकल्प चिनियाँ कम्युनिस्ट पार्टीले लिएको छ ।

अरुणाचललाई सन् १९७२ सम्म नर्थ ईस्ट फ्रन्टियर एजेन्सी भनी चिनिन्थ्यो । त्यो पूर्वोत्तरको सबभन्दा ठूलो राज्य हो । त्यसको सीमा उत्तरमा तिब्बत र उत्तरपश्चिममा भुटानसँग जोडिन्छ । अनि पूर्वतिर त्यो म्यान्मारसँग जोडिन्छ ।

चीनले पूरै अरुणाचल प्रदेशमा दाबी गरेको भए पनि उसको मुख्य चासो तवाङमा छ । त्यो ठाउँ अरुणाचलको उत्तरपश्चिममा पर्छ र भुटान तथा तिब्बतसँग जोडिन्छ ।

तवाङमा चीनले ट्याक्टिकल कारणले गर्दा चासो राखेको हुनुपर्छ किनकि त्यसले भारतको उत्तरपूर्वी क्षेत्रमा चीनलाई रणनीतिक प्रवेशको अवसर दिन्छ ।

तवाङ तिब्बत र ब्रह्मपुत्र उपत्यकाबीचको कोरिडोरको मुख्य विन्दु हो ।

तवाङमा तवाङ गान्देन नामग्याल ल्हात्से छ जुन संसारमै तिब्बती बौद्धधर्मको दोस्रो सबभन्दा ठूलो विहार (मोनास्ट्री) हो ।

उक्त मोनास्ट्री पाँचौं दलाई लामाको इच्छाबमोजिम सन् १६८०–८१ मा मेराग लोद्रो ग्याम्त्सोले स्थापना गरेका थिए ।

उक्त मोनास्ट्री त्यहाँ भएकाले त्यो ठाउँ कुनै बेलामा तिब्बतको भूभाग थियो भन्ने प्रमाण हो भनी चीनले दाबी गरेको छ । तवाङ मोनास्ट्री र ल्हासा मोनास्ट्रीबीचको ऐतिहासिक सम्बन्धलाई आधार बनाएर चीनले अरुणाचलमा दाबी गर्ने गरेको हो ।

सन् १९१४ मा भएको शिमला सन्धिमा चिनियाँ र तिब्ब

ती प्रतिनिधिहरू उपस्थित थिए । उक्त सन्धिले तिब्बत र भारतलाई पूर्वी सेक्टरमा छुट्ट्याउने म्याकमाहोन लाइन बनाएको थियो । उक्त लाइनले भारत र तिब्बतबीचको सीमा निर्धारण गरेको थियो । तर चीनले शिमला सन्धिलाई स्वीकार गरेको छैन ।

तवाङ तिब्बती बौद्धधर्मको महत्त्वपूर्ण केन्द्र हो । माथिल्लो अरुणाचल क्षेत्रमा भएका कतिपय कबिलाको सांस्कृतिक सम्बन्ध तिब्बतीहरूसँग छ । मोन्पा कबिलाका मानिसले तिब्बती बौद्धधर्म अपनाएका छन् र उनीहरू तिब्बतका केही क्षेत्रमा पनि पाइन्छन् ।

केही विज्ञहरूका अनुसार, यी जातीय समूहहरू अरुणाचल प्रदेशमा रहँदा बेइजिङविरुद्ध लोकतन्त्रपक्षधर आन्दोलन उठ्न सक्ने डर चीनलाई छ ।

दलाई लामा सन् १९५९ मा तिब्बतबाट पलायन हुँदा तवाङको बाटो हुँदै भारत प्रवेश गरेका थिए । उनी त्यतिबेला तवाङ मोनास्ट्रीमा केही समय बसेका थिए ।

बेइजिङले अरुणाचल प्रदेशको नियन्त्रण प्राप्त गरेमा भुटानले पश्चिमी र पूर्वी दुवै सीमामा चीनलाई छिमेकी बनाउन पाउनेछ ।

चीनले अहिलेदेखि नै भुटानको पश्चिमी भागमा रहेका रणनीतिक विन्दुहरूलाई जोड्ने मोटर चल्ने सडक व्यापक रूपमा बनाइरहेको छ । विभिन्न समाचारमा आएअनुसार, चीनले डोका लादेखि गामोचिमसम्म सडक विस्तार गर्न चाहेको छ । गामोचिम भारतीय सेनाको सुरक्षामा छ । सिलिगुडी कोरिडोर नजिक आउने चीनको प्रयास भारत र भुटान दुवैका लागि सुरक्षा खतरा हो ।

त्यसबाहेक चीनले उक्त क्षेत्रमा रेलवे लाइनहरूको सञ्जाल पनि विस्तार गरिरहेको छ । त्यसबाट उसको सेनालाई विशाल लाभ प्राप्त हुनेछ ।

चीनमाथि क्षेप्यास्त्र प्रहार गर्नका लागि भारतका लागि अरुणाचल प्रदेश सबभन्दा नजिकैको ठाउँ हो । अनि चीनबाट हुन सक्ने आक्रमणलाई रोक्न अनेकौं पत्र भएको वायुरक्षा प्रणाली तैनाथ गर्न भारतका लागि अरुणाचल प्रदेश सर्वाधिक उपयुक्त स्थान हो । त्यसैले अरुणाचलमा नियन्त्रण कायम गरेमा चीनलाई रणनीतिक लाभ प्राप्त हुनेछ ।

अनि भारतको पूर्वोत्तर क्षेत्रमा जल आपूर्तिमा चीनको नियन्त्रण रहेको सबैलाई थाहा छ । चीनले अनेकौं बाँध बनाएको छ र भारतविरुद्ध जललाई भूरणनीतिक हतियार बनाउन सक्नेछ । भारतीय क्षेत्रमा बाढी वा सुक्खा गराउन सक्ने क्षमता चीनसँग छ ।

चाङ्पो नदी तिब्बतमा उत्पत्ति हुन्छ अनि भारततर्फ बग्छ । त्यसलाई अरुणाचल प्रदेशमा सियाङ भनिन्छ र पछि त्यो ब्रह्मपुत्र भनी चिनिन्छ ।

सन् २००० मा तिब्बतमा बाँध भत्किँदा आएको बाढीले उत्तरपूर्वी भारतमा विनाश मच्चाएको थियो । त्यसमा ३० जनाको ज्यान गएको थियो भने १०० भन्दा बढी मानिस हराएका थिए ।