‘मेरी बास्सै’मा फर्किइन् ‘चम्सुरी’

२ मंसिर २०७८, बिहीबार ०८:३९

काठमाडौं । ‘चम्सुरी’ उपनामले चर्चित कलाकार पल्पसा डंगोल अभिनयमा फर्किएकी छन् । उनी झण्डै ६ महिनापछि हास्य टेलिसिरियल ‘मेरी बास्सै’मार्फत अभिनयमा फर्किएकी हुन् । दुवै मिर्गौला फेल भएर अस्वस्थ भएपछि उनी अभिनयबाट टाढा रहेकी थिइन् ।

मंगलबार प्रसारण ‘मेरी बास्सै’को भाग ७२९ मा दर्शकले पल्पसालाई हेर्न पाएका छन् । स्वास्थ्य अवस्थामा सुधार आएपछि आफू ‘मेरी बास्सै’मा फर्किएको पल्पसाले बताइन् । उनले लामो समयपछि छायाँकन सेटमा पुग्दा आफ्ना आँखा रसाएको सुनाइन् ।

‘लामो समयपछि सेटमा फर्किंदा एकदमै खुशी लाग्यो । खुशीका कारण आँखा रसाए,’ उनले अनलाइनखबरसँग भनिन् । उनलाई छायाँकन सेटमा ‘मेरी बास्सै’ टिमले फूलमालाले स्वागत गरेको थियो ।

पल्पसाले मिर्गौला प्रत्यारोपण गर्न भने बाँकी छ । माघको तेस्रो साता मिर्गाैला प्रत्यारोपण हुने सम्भावना रहेको बताउँदै त्यतिञ्जेल दर्शकले ‘मेरी बास्सै’मा आफूलाई नियमित हेर्न पाउने उनले बताइन् ।

परिवारकै एक जना सदस्यले उनलाई मिर्गौला दिनेछन् । त्यसका लागि सरकारी प्रक्रिया पूरा गर्ने क्रममा रहेको पल्पसाले जानकारी दिइन् । आठ वर्षअघि उनले आफ्नो मिर्गौलाको समस्याबारे उनले थाहा पाएकी थिइन् ।

त्यसयता परिवारका सदस्यलाई जानकारी नदिई उनले मिर्गौलाको उपचार गराउँदै आएकी थिइन् । तर, गत जेठमा श्वासप्रश्वासमा समस्या आएपछि उनी त्रिवि शिक्षण अस्पताल भर्ना भएकी थिइन् । चेकजाँचका क्रममा उनको दुवै मिर्गौलाले काम गर्न छाडिसकेका कारण मिर्गौला फेर्नुपर्ने चिकित्सकले बताएका थिए ।