महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय टी-२० सिरिजमा बनायो नयाँ किर्तिमान

२ मंसिर २०७८, बिहीबार ०६:१०

काठमाडौं । नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीले आफ्नो पहिलो अन्तर्राष्ट्रिय टी-२० सिरिज जितेको छ ।

बुधबार भएको दोस्रो खेलमा कतारलाई ६१ रनले पराजित गर्दै नेपालले एक खेल अगावै सिरिज जितेको हो ।  सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले कतारलाई ११९ रनले पराजित गरेको थियो ।

दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियमा भएको खेलमा नेपालले दिएको १३० रनको लक्ष्य पछ्याएको कतार १९.३ ओभरमा ६८ रनमा अलआउट भयो । उसका लागि कप्तान अयेशाले सर्वाधिक २४ रन बनाइन ।

नेपालकी सरस्वती चौधरीले सर्वाधिक ४ विकेट हात पारिन् भने कप्तान रुविना क्षेत्रीले २ तथा संगिता राई र सवनम राईले समान १ विकेट लिइन् ।

त्यसअघि टस जितेर नेपालले पहिले ब्याटिङ गर्दै ६ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो । नेपालका लागि कप्तान रुबिना क्षेत्रले ४८ बल खेल्दै ४ चौका र १ छक्का मद्दतमा ५० रन बनाइन् । रुबिनाको यो पहिलो टी-२० अन्तर्राष्ट्रिय अर्धशतक हो । यस्तै ओपनिङ गरेकी कविता कुँवरले ३१ रन बनाइन् ।

अप्सरी बेगम २३ रनमा अविजित  रहिन् ।

कतारकी एन्जेलिन मारेले २ विकेट लिइन् भने एलिना खान, साची ढाटवाल र सबिजाको नाममा समान १/१ विकेट रह्यो ।

सिरिजको तेस्रो तथा अन्तिम खेल बिहीबार हुनेछ ।