माउन्टेन बाइक च्यालेन्ज रसुवामा मंसिर १८ गते हुने, नगद पुरस्कार कति ?

२४ कार्तिक २०७८, बुधबार ०३:५०

काठमाडौं । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश र रसुवा जिल्ला साइक्लिङ संघको संयुक्त आयोजनामा प्रथम हाइ अल्टिच्युड रसुवा माउन्टेन बाइक च्यालेन्ज रसुवामा मंसिर १८ गते हुने भएको छ ।

प्रतियोगितामा पुरुषतर्फ इलिट, जुनियर र मास्टर्स तथा महिलामा इलिट विधामा प्रतिस्पर्धा हुने रसुवा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका आयोजक साइक्लिङ संघका अध्यक्ष दावा तामाङले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सबै विधामा गरी करिब १ सय ५० खेलाडीको सहभागिता अपेक्षा  आयोजकको छ ।

इलिटतर्फ शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ४० हजार, २० हजार र १५ हजार नगद पुरस्कार पाउनेछन् । शीर्ष १० स्थानमा रहनेका लागि नगद पुरस्कार राखिएको छ । मास्टर्स र जुनियरका विजेताले १५ हजार, उपविजेताले १० हजार र तेश्रो हुनेले ७ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जानकारी दिएको छ ।

रसुवा जिल्ला खेलकुद विकास समिति र नेपाल साइक्लिङ संघको समन्वयमा हुने प्रतियोगिताको दूरी ३५ किलोमिटर रहेको छ । पत्रकार सम्मेलनमा दुई आयोजकबीच सम्झौता पत्रमा हस्ताक्षर पनि भएको छ ।

बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारी र रसुवा साइक्लिङ संघका अध्यक्ष दावा तामाङले सम्झौता पत्रमा हस्ताक्षर गरे । सदस्य–सचिव भण्डारीले प्रतियोगिताका लागि परिषद्ले १० लाख उपलब्ध गराउने बताए । प्रतियोगिता सञ्चालन गर्न करिब २१ लाख रुपैयाँ खर्च हुने बताइएको छ ।

सदस्य–सचिव भण्डारीले खेलकुद मार्फत पर्यटनलाई पनि बढावा दिने उद्देश्यका साथ परिषद्ले हाइ अल्टिच्युड प्रतियोगितालाई महत्व दिएको बताउदै यसअघि दोलखामा रेस्लिङ सम्पन्न भइसकेको र कात्तिक २७ मा सिन्धुपाल्चोकको पाँच पोखरीमा हाइ अल्टिच्युड हाफ म्याराथन हुन लागेको जानकारी गराए ।

नेपाल साइक्लिङ संघका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले सरोकार निकायसंग समन्वय गरी प्रतियोगिता आयोजना गर्न लागेकोमा खुशी व्यक्त गर्दै आयोजकलाई धन्यवाद दिए ।