गायक अमात्यको जग्गाको नक्कली पूर्जा बनाएर १९ करोड ऋण लिए

२४ कार्तिक २०७८, बुधबार ०३:३६

काठमाडौं । गायक यागेश्वर अमात्यको जग्गाको नक्कली धनी पूर्जा बनाएर ऋण प्रवाह भएको भेटिएको छ ।

अमात्यको बारामा रहेको १२ विगाहा जग्गा धितो राखेर कुमारी बैंकको बारा शाखाबाट १९ करोड रुपैयाँ ऋण प्रवाह भएको पाइएको हो ।

यसबारे जानकारी पाएपछि अमात्यले दशैं अघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा अनुसन्धानका लागि जाहेरी दिएका थिए । त्यसअनुसार सरकारी लिखत कीर्ते सम्बन्धी कसूरमा अनुसन्धानका लागि ब्यूरोले केही साता अघि ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बैंकको ऋण अधिकृत सोनु ठाकुर, मूल्यांकनकर्ता राजेश चौरसियासहित नक्कली जग्गा धनी बन्ने एसके महर्जन, मुक्तिलाल गौतम र विचौलिया कुसुम प्रधान रहेको ब्यूरोका प्रमुख धिरजप्रताप सिंहले आयोखबरसँग बताए ।

प्रहरीसँगको बयानमा नक्कली जग्गा धनी महर्जन र गौतमले आफूहरु पनि फसेको बताएका छन् । उनीहरुले ‘प्रधानले आफूहरुलाई डुबाएको’ बताएका छन् । विस्तृत अनुसन्धान भइरहेको छ ।