गृहजिल्लामा घरदैलो गर्दै डा बाबुराम

२३ कार्तिक २०७८, मंगलवार ११:५२

काठमाडौँ।  पूर्वप्रधानमन्त्री एवं जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले गृह जिल्ला पुगेर घरदैलो गर्न थालेका छन् । जसपाको सुज (पार्टी संगठन सुदृढीकरण तथा जनपरिचालन) अभियान लिएर उनले गोरखाका सबै गाउँपालिका /नगरपालिकामा जनताको घर–घरमा पुग्ने अभियान थालेका हुन् । यो सुज अभियान कार्तिक २२ देखि मंसिर ३ गते सम्म संचालन हुनेछ । तल्लो तहका जनताका गुनासा र वास्तविकता बुझ्न र अहिलेको राष्ट्रिय राजनीतिबारे बुझाउन उनी यस्तो अभियानमा निस्केका हुन् । अभियान मंसिर ३ गते बाल्वामा स्वास्थ्य शिविर कार्यक्रम पश्चात टुंगिने छ ।

सुज अभियानको पहिलो दिनमै भट्टराईले आफू भोट माग्न नभई जनताको वास्तविकता हेर्न र समस्या समाधानको पहल गर्न घर–घरमा आएको स्पष्टीकरण दिए । उनले सही राजनीति नभएसम्म देश नबन्ने ठोकुवासमेत गरे ।

अहिलेको राजनीतिक पार्टी र नेतृत्वले देशको विकास हुन नसक्ने उनको दाबी थियो । तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपा(नेकपा) विभाजनलाई उदाहरण दिएर भट्टराईले पुरानो पार्टीबाट अब विकास र समृद्धि सम्भव नहुने विश्लेषण गरे । साम्यवादको अमूर्त कुरालाई छाडेर सबै राजनीतिक पार्टीलाई समाजवादी धारमा लग्नसमेत उनले आग्रह गरे ।

भेटघाटमा भट्टराईलाई स्थानीयले आफ्ना समस्या र सरोकारबारे प्रश्न पनि गरेको उनको सचिवालयले जनाएको छ । गोरखा घ्याल्चोक, तोरी स्वारा बेनिघाट, माझीगाउँका जनताले नछुटाएको प्रश्न थियो, ’बुढीगण्डकी बन्छ कि बन्दैन ? बने कहिले बन्छ ? कुन मोडालिटीमा बन्छ ?’

जवाफमा उनले आयोजनाले गति लिन नसक्नुको प्रमुख कारण ‘कुन मोडालिटीमा बनाउने’ भन्ने टुंगो नलाग्नु रहेको जानकारी गराए । दुई महिनाभित्रै बूढीगण्डकीको मोडालिटीबारे टुंगो लाग्ने उनको जिकिर थियो ।