प्रसूति गृहमा ‘आमाको दूध भण्डार’ “ह्युमन मिल्क ब्याङ्क”

२२ कार्तिक २०७८, सोमबार १५:५७

फाइल तस्बिर

काठमाडौं । सुन्दा अचम्म लाग्न सक्छ, विश्वका झण्डै ५६ प्रतिशत नवजात शिशुहरूले जन्मेदेखि ६ महिनासम्म राम्रोसँग स्तनपान गर्न पाउँदैनन् । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वमा करिब ४४ प्रतिशत नवजातले मात्रै ६ महिनाभित्र राम्रोसँग स्तनपान गर्ने गरेका छन् ।

यही उमेर हो जतिबेला बच्चालाई आमाको दूधबाहेक कुनै पनि बाहिरी खानाको आवश्यकता पर्दैन र दिनु पनि हुँदैन । समयमा सही तरिकाले स्तनपान नगराउँदा विश्वका आधाभन्दा धेरै बच्चामा दीर्घकालीन स्वास्थ्य समस्या देखिने गरेको छ ।

परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालकी निर्देशक डा. संगीता कौशल मिश्राका अनुसार स्तनपानले बाल मृत्युदर ३० प्रतिशतसम्म घटाउँछ ।

अर्थात् दूध खाएको बच्चा र नखाएको बच्चा एकैपटक कुनै रोगको शिकार भए भने उनीहरुमध्ये ६ महिनासम्म नियमित स्तनपान गरेको बच्चाको मृत्युको जोखिम स्तनपान नगरेकाको तुलनामा ३० प्रतिशतले कम हुन्छ । त्यसैले बाल मृत्युदर रोक्न पनि यो सेवाले सहयोग गर्छ ।

जन्मिनेबित्तिकै बच्चाले दूध चुस्न नसक्ने र आमामा पर्याप्त दूध उत्पादन नहुनेजस्ता समस्याले नेपालमा पनि कैयौं बच्चाको ज्यान जोखिममा पर्ने गरेको छ । यसको दीर्घकालीन समाधानका लागि आमाको दूध भण्डारण सेवा नेपालमै पहिलो पटक प्रसूति गृहले गर्ने तयारी गरेको छ ।

अहिले प्रसूति गृहमा दैनिक ६० देखि ८० जना सुत्केरी हुने गरेका छन् । त्यसमध्ये कतिपयले बच्चालाई आवश्यकभन्दा धेरै दूध उत्पादन हुँदा समस्या भएको सुनाउँछन् भने कतिपय बच्चा स्तनपान गर्न नसक्ने समस्याबाट ग्रस्त छन् । यही समस्या समाधान गर्नको लागि प्रसूति गृहले यो सेवा दिन लागेको मिश्रा बताउँछिन् ।

के हो ‘ह्युमन मिल्क ब्याङ्क ?’

खेर जाने अवस्थामा रहेको आमाको दूधलाई संकलन गरेर निश्चित तापक्रममा भण्डारण गरी अत्यावश्यक अवस्थामा बच्चालाई दूध उपलब्ध गराउने माध्यम नै आमाको दूध भण्डारण अर्थात् ह्युमन मिल्क ब्याङ्क हो ।

यो रक्तदान गरेर जम्मा पारेको रगत अत्यावश्यक अवस्थामा उपलब्ध गराउने ‘ब्लड बैंक’को अवधारणासँग मिल्दोजुल्दो हुन्छ । यसमा आफ्नो दूध दान गर्न चाहने र बच्चालाई पर्याप्त खुवाउँदा पनि दूध बढी हुने आमाहरूले स्वेच्छिक रूपमा अमृत कोषलाई आफ्नो दूध दान गर्न सक्छन् ।

यसको नाम ‘अमृत कोष’ राखिएको छ । आमाको दूध अमृत समान हुने भएकोले यसको नाम अमृत कोष राखिएको प्रसूति गृहले जनाएको छ ।

निश्चित तापक्रममा दूधलाई भण्डारण गर्दा आमाको दूधमा रहेको पौष्टिकता नष्ट हुँदैन । अमृत कोषमा पनि दूध भण्डारण गर्दा २ लिटर जति भएपछि प्यास्चराइज गरेर राख्ने गरिन्छ ।

यसलाई निश्चित तापक्रममा तताएर चिस्याउँदा दूधभित्र रहेको ब्याक्टेरिया मर्छ । दूध भण्डारण गर्दा माइनस २० डिग्री सेल्सियस तापक्रममा राख्ने गरिन्छ ।

यसरी भण्डारण गरिएको दूधलाई ६० एमएलदेखि १०० एमएलसम्मको प्याकेटमा तयार पारिन्छ ।