प्रधानन्यायाधीश जबराले अवकाश हुनेगरी सम्मानजनक बहिर्गमनको खाका अघि सारे

२१ कार्तिक २०७८, आईतवार २१:४७

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले अबको तीन महिनापछि विदामा बस्ने र त्यसको एक महिनापछि अवकाश हुनेगरी सम्मानजनक बहिर्गमनको खाका अघि सारेका छन् ।

आफूसँग कुराकानी गर्न सर्वोच्च अदालतका न्यायाधीशहरुले गठन गरेको तीन सदस्यीय कार्यदलसँग उनले अमूर्त रुपमा यस्तो प्रस्ताव गरेको सर्वोच्च अदालत उच्च स्रोतले आयोखबरलाई बतायो ।

‘अहिलेकै रुपमा उहाँहरुले राजीनामा मागेर असहयोग गर्नुभयो भने मैले पनि संवैधानिक बाटोबाट मात्रै निकास हुन्छ भनेर जवाफ दिनुपर्ने हुन्छ’ सर्वोच्च अदालत उच्च स्रोतले प्रधानन्यायाधीश जबराको भनाइ उधृत गर्दै भन्यो, ‘मलाई सम्मानजनक बहिर्गमनको अवसर दिने हो भने तपाईंहरु पनि पछि हट्नुस् । मैले पनि केही समयपछि अवकाशको बाटो लिन्छु भनेर प्रस्ताव गर्नुभएको छ ।’

सर्वोच्च अदालतका न्यायाधीशहरुले अनौपचारिक रुपमा गठन गरेको कार्यदलमा न्यायाधीशहरु सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र डा.मनोजकुमार शर्मा छन् ।

स्रोतका अनुसार, प्रधानन्यायाधीश जबराले माघको अन्तिम साता विदामा बस्ने र त्यसको एक महिनापछि फागुनको अन्तिम साता ‘उचित निकास दिने’ प्रस्ताव गरेका हुन् । उनले त्यसका लागि आफूसँग राजीनामा माग्ने निर्णयबाट सहकर्मी न्यायाधीशहरु पछि हट्नुपर्ने र ‘सम्मानजनक विदाइ’ को वातावरण हुनुपर्ने माग राखेका छन् ।

स्रोतका अनुसार उनले कात्तिकको बाँकी अवधि, मंसिर र पुस महिनाभर आफूलाई काम गर्न दिनुपर्ने माग राखेका छन् । तर त्यतिञ्जेल आफुले प्रशासनिकबाहेकका काम नगर्ने पनि प्रतिवद्धता जनाएका छन् ।

प्रधानन्यायाधीश जबराले आफ्नो मौखिक प्रस्ताव विश्वसनीय बनाउन आफूभन्दा माथिल्लो मर्यादाक्रममा रहेका संवैधानिक पदाधिकारीको उपस्थितिमा आफूले त्यो प्रतिवद्धता व्यक्त गर्ने प्रस्तावसमेत राखेको स्रोतले बतायो । गृह मन्त्रालयको पछिल्लो मर्यादाक्रम अनुसार प्रधान्यायाधीशभन्दा माथिल्लो मर्यादाक्रममा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीमात्रै रहन्छन् ।