
काठमाडौं । चलचित्र, वृत्तचित्र, विज्ञापन, समाचारमूलक भिडियो तथा सामाजिक सञ्जालका भिडियोका लागि ‘सोसियल मिडिया फिल्म अवार्डस्–२०७८’ हुने भएको छ ।
यसअघि ड्रिम वर्ड अफ फिल्म मेकर्स प्रालिले आयोजना गर्दै आएको उक्त अवार्ड कार्यक्रमलाई दोस्रो संस्करणमा लिडिड वोमन एशोसिएसनले पनि सहकार्य गरेको छ । अवार्डमा सहभागिताका लागि दरखास्त आह्वान गरिएको र अवार्डमा सहभागी हुन चाहनेहरुका लागि कात्तिक १६ गतेदेखि नै फारम खुला गरिएको सोसियल मिडिया फिल्म अवार्डस्की अध्यक्ष जानकी प्रधानले जानकारी दिइन् ।
उनका अनुसार मूलधारका फिल्म, गीत संगीत र म्युजिक भिडियोको अवार्ड भइरहेको बेला फरकधारको यो अवार्ड गर्न लागिएको हो ।
ड्रिम वर्ड अफ फिल्म मेकर्स प्रालिकी अध्यक्ष तथा आयोजक समितिकी कार्यकारी अध्यक्ष शवनम मुखियाले अवार्डमा ‘सर्ट फिल्म’अन्तर्गत छायाँकार, सम्पादक, अभिनेत्री, अभिनेता र निर्देशक, वृत्तचित्र, चुनौतीपूर्ण समाचारमूलक भिडियो ‘जनचेतनामूलक विज्ञापन’ अन्तर्गत पीएसए विधामा प्रतिस्पर्धा हुने बताइन् ।
पहिलो महिला छायाँकार समेत रहेकी मुखियाले ‘सोसियल मिडिया’अन्तर्गत फेसबुक, इन्टाग्राम, ट्विटर, युट्युवब, ब्लगमा समावेश गरिएको जनचेतनामूलक र सकारात्मक सन्देश दिने खालका विषयवस्तु समेटिएको भिडियोलाई प्राथमिकता दिइने जानकारी दिइन् ।
फारम र सम्बन्धित विधामा भाग लिने वृत्तचित्र, लघु चलचित्र, जनचेतनामूलक विज्ञापन, युट्युब भिडियो जम्मा भएपछि यसको मनोनयन सार्वजनिक गरिने र त्यपछि ‘सोसियल मिडिया फिल्म अवार्ड’ प्रदान गरिनेछ ।
यस्तै सञ्चार, उद्योग र कलाकारिता क्षेत्रमा रही सामाजिक क्षेत्रमा काम गर्ने विशिष्ट व्यक्तिलाई सम्मान समेत गरिने आयोजकले जनाएको छ ।
