जनताका घरआँगनमा पुग्दा सबै समस्या समाधान गर्ने

१८ कार्तिक २०७८, बिहीबार ०५:४४

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारले शक्ति पृथकीकरणको सिद्धान्त र विधिको शासनका बारेमा आफ्नो गहिरो विश्वास रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज आयोजित शुभकामना कार्यक्रममा उनले वर्तमान संविधान सबै राजनीतिक शक्तिको सहमतिको दस्तावेज भएको बताए  । उनले सबै नेपालीलाई आफ्ना असन्तुष्टि, टीकाटिप्पणी र आलोचना गर्ने अधिकार यही संविधानबाट प्राप्त भएको प्रसङ्ग उल्लेख गर्दै प्रमुख दलका नेताले निर्वाचनको अवसरमा जनताका घरआँगनमा पुग्दा सबै समस्या समाधान गर्ने भनेर आश्वासन दिए पनि त्यसो नभएको चिन्ता व्यक्त गरे ।

उपसभापति गच्छदारले २०७२ साल २५ गते चार दलका नेताबीच १६ बुँदे सहमतिलाई आत्मसात् गर्न कसैले पनि हिच्किचाउन नहुने भन्दै थारु, आदिवासी, जनजाति, दलित, मधेशी, महिला र मुस्लिमलगायत हिमाल, पहाड, तराई मधेशमा बसोबास गर्ने सबैलाई विश्वास गर्नुपर्ने बताए ।

उनले लामो राजनीतिक यात्रामा जहिले पनि देश, जनता र लोकतन्त्रको लागि लडेको चर्चा गर्दै स्वतन्त्रता प्राप्तिका लागि रगत पसिना बगाएका त्याग र बलिदान गर्ने साथी  उपेक्षित भएको भन्दै दुःख व्यक्त गरे ।

उनले आगामी महाधिवेशनले पार्टीमा देखिने गुटउपगुटलाई समाप्त पार्न विधानमा संशोधन हुनुपर्ने जिकिर गर्दै नेपाली कांग्रेसलाई बलियो बनाउन भनेर नै आफ्ना तत्कालीन पार्टीका सबै नेता एवं कार्यकतालाई लिएर विधिवत् रुपमा नेपाली कांग्रेससँग एकीकरण गरेको स्पष्ट गरे ।