अष्ट्रेलियामा प्रतिबन्ध खुकुलो बनाएसँगै विमानस्थलमा आफन्तलाई भेटेका मानिसहरू निकै भावुक, अब यस्तो छ नियमहरु

१६ कार्तिक २०७८, मंगलवार ०७:२२

काठमाडौं । अष्ट्रेलियाले कोभिड १९ महामारीपछि आफ्नो अन्तर्राष्ट्रिय सीमामा लागू गरेको कठाइ खुकुलो बनाएको छ ।

सोमबार अष्ट्रेलियाले महामारीपछि कठाई गरिएको आफ्नो अन्तर्राष्ट्रिय सीमाना खुकुलो बनाएको रोयटर्सले बताएको छ ।

अन्तर्राष्ट्रिय सीमामार्फत् हुने आवतजावतमा लगाइएका प्रतिबन्ध खुकुलो बनाएसँगै कोभिड खोप लगाएका अष्ट्रेलियालीले स्वतन्त्र भएर यात्रा गर्न पाउने भएका छन् ।

अन्तर्राष्ट्रिय आवतजावत खुकुलो भएसँगै मानिसहरू आफ्ना परिवारसँग पुनर्मिलन हुने अवसर पाएका छन् । विमानस्थलमा लामो समयपछि साथीभाई र आफन्तलाई भेटेका मानिसहरू निकै भावुक बनेका थिए ।

सोमबार बिहान सिंगापुर र लस एन्जेलेसबाट सिड्नीमा पहिलो उडान भएको थियो । कैयौं महिनासम्म भेट नभएका साथीभाई र आफन्तले विमानस्थल ओर्लिएका यात्रुलाई भावुक हुँदै स्वागत गरेका थिए । स्वदेश फर्का यात्रलाई विमानस्थलका कर्मचारीले समेत चकलेट र बिस्कुट जस्ता उपहार दिँदै स्वागत गरेको समाचारमा उल्लेख छ ।

कोरोनाभाइरस महामारीपछि अष्ट्रेलियामा झण्डै १८ महिनाभन्दा बढी अन्तर्राष्ट्रिय सीमामार्फत् हुने आवतजावतमा कठाइ गरिएको थियो । सोमबारको कदमसँगै हजारौं मानिसहरू ‘परमिट’बिनै स्वेदश आउन सक्नेछन् भनेर आगमनपछि क्वारेन्टाइन बस्नु पर्नेछैन ।

अन्तर्राष्ट्रिय सीमामा लगाइएको प्रतिबन्ध खुकुलो भएपछि सुरुमा अष्ट्रेलियाका नागरिक, स्थायी बासिन्दा र उनीहरूका परिवारले मात्रै आवतजावत गर्न पाउने समाचारमा उल्लेख छ ।

तर अष्ट्रेलिया सरकारले विदेशी पर्यटक र कामदारलाई समेत सीमा खुला गर्ने तयारी गरेको छ ।