भारतमा मजदूरी गरिरहेका नेपालीलाई अमेरिकाबाट सहयोग

१५ कार्तिक २०७८, सोमबार ०७:०९

काठमाडौं । विगत १५ वर्षदेखि भारतको गुजरातमा मजदूरी गरिरहेका नेपाली नागरिक हिमाल केसीको उपचारका लागि अमेरिकामा वसोवास गर्ने नेपाली नागरिकले सहयोग गरेका छन् ।

अमेरिकाका नेपाली सामाजिक अभियन्ता विशाल भारतीयको संयोजनमा त्यहाँका नेपालीहरुले एक हजार अमेरिकी डलर सहयोग गरेका हुन् ।

केहीअघि घरको छानो चुहिरहेका बेला पलास्टिकले छोप्ने क्रममा चिप्लिएर आँगनमा केसी श्रीमतीमाथि लडेका थिए । त्यसक्रममा उनको मेरुदण्ड भाँचिएको थियो भने श्रीमतीको दाहिने हात भाँचिएको थियो ।

दुवै जना तीन महीनादेखि ओछ्यान थला परेपछि उनीहरुलाई उपचार र खानाको अभाव भएको थियो । त्यसबारे थाहा पाएपछि सहयोगमा जुटेको भारतीले बताए ।

भारतीका अनुसार फेसबुकमा “हिमाल केसी बचाऊँ अभियान” चलाएर संकलन गरिएको रकम उनलाई हस्तान्तरण गरिएको हो । भारतीको संयोजनमा कोरोना महामारीका वेला २२ लाख रुपैयाँ बराबरका अक्सिजन सिलिण्डर पनि नेपालमा पठाइएको थियो ।