टि-२० मा लगातार हार्दै भारत, न्युजिल्यान्ड विजयी

१५ कार्तिक २०७८, सोमबार ०६:५७

काठमाडौं । आईसीसी टी-२० विश्वकपमा भारतले लगातार दोस्रो हार बेहोरेको छ । सुपर-१२ अन्तर्गत आइतबार राति भएको ग्रुप-२ को खेलमा भारत न्युजिल्याण्डसँग ८ विकेटले पराजित भएको हो । यसअघि भारत पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो ।

पहिलो जित हात पार्ने क्रममा न्युजिल्याण्डले भारतले दिएको १११ रनको लक्ष्य १४.३ ओभर खेल्दै दुई विकेट गुमाएर पूरा गर्‍यो ।

जितपछि न्युजिल्याण्डले दुई अंक जोडेको छ । न्युजिल्याण्ड पहिलो खेलमाम भने पाकिस्तानसँग पराजित भएको थियो । भारत दुई हारपछि अंकविहीन छ ।

न्युजिल्याण्डको जितमा ओपनर डार्यल मिचेलले सर्वाधिक ४९ रन बनाए । अर्धशतकबाट एक रनले चुकेका उनले ३५ बल खेल्दै चार चौका र तीन छक्का प्रहार गरे ।

कप्तान केन विलियम्सले ३१ बल खेल्दै ३ चौका मद्दतमा अविजित ३३ रन बनाए । डेभोन कनवे दुई रनमा अविजित रहे । यस्तै मार्टिन गप्टिलले २० रन बनाए । भारतका लागि जसप्रित बुमराहले चार ओभरमा १९ रन खर्चेर दुई विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले सात विकेट गुमाएर ११० रन बनाएको थियो । भारतका लागि रवीन्द्र जडेजाले अविजित २६ रन बनाउँदा हार्दिक पाण्ड्याले २३ रन जोडे ।

भारतलाई कम स्कोरमा रोक्न न्युजिल्याण्डका ट्रेन्ट बोल्टले चार ओभरमा २० रन खर्चेर तीन तथा ईश शोधीले चार ओभरमा १७ रन खर्चेर दुई विकेट लिए । टिम साउदी र एडम मिल्नेले समान एक/एक विकेट लिए ।