१८ लाख थान माला बिक्री हुने अनुमान, यसपाल तिहारमा फूलको मूल्यमा वृद्धि होला त ?

१४ कार्तिक २०७८, आईतवार १९:०९

काठमाडौं । यो वर्षको तिहारमा फूलमालाको माग केही बढ्ने देखिएको छ । कोरोना महामारी असर कम हुँदै जाँदा यो वर्ष धेरै नागरिकले तिहार मनाउँदैछन् । साथै, माला नकिन्ने गरेकाहरूले घरमै रोपेका फूलका बोट कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाले कुहाइदिएको छ ।

यसकारण गत वर्षभन्दा यसपटक फूलमाला धेरै किनबेच हुनेछ । गत वर्ष तिहारको तुलनामा यो वर्ष ४/५ लाख वटा मालाको माग बढ्ने फ्लोरिकल्चर एसोसिएशन अफ नेपालका अध्यक्ष मीनबहादुर तामाङले बताए । उनले भने, ‘तिहारमा २० करोड रुपैयाँ हाराहारीमा माला खपत हुने अनुमान गरेका छौँ ।’

गत वर्ष कोभिड–१९ महामारीका कारण तिहारमा जम्माजम्मी १३/१४ लाखवटा माला बिकेका थिए । तामाङले गत वर्षको तिहारमा १० देखि १२ करोड रुपैयाँका माला बिकेको तथ्यांक संकलन भएको बताए । उनले यो वर्षको तिहारमा १८/१९ लाखवटा माला खरिद/बिक्री हुने आँकलन गरेको जानकारी दिए । मखमली र गोदावरीको माला ३ लाखवटा र सयपत्रीका १५ लाखवटा माला बिक्री हुने उनको भनाइ छ ।

तिहारमा बजारबाट आउने मखमली मालाको माग भने स्वदेशी उत्पादनले नै धान्ने आंकलन छ । तिहारको माग धानेर मखमलीको एक लाखवटा माला निर्यातसम्म हुने एसोसिएशनले आयोखबरलाई जानकारी दिएको छ ।

तर, तिहारमा सयपत्री फूलको मालाको माग धान्न भने स्वदेशी उत्पादन पर्याप्त छैन । तिहारमा १५ लाखवटा माला खपत हुनेमा स्वदेशी उत्पादनबाट करिब १२ लाखवटा माला बन्ने एसोसिएशनले जनाएको छ । बाँकी मालाको माग धान्न भारतबाट ३ लाख गोटा हाराहारीमा आयात गर्नुपर्ने हुन्छ । कात्तिकको पहिलो साता बेमौसमी वर्षा नपरेको भए मालाको आयात तथ्यांक घट्न सक्थ्यो ।

मूल्य बढ्ने
कात्तिक पहिलो साता देशभर परेको बेमौसमी वर्षाले अन्य कृषि बालीमा जस्तै फूल खेतीमा पनि क्षति पु¥याएको छ । वर्षाले देशभर लगाइएको र बिक्रीका लागि तयारी अवस्थामा रहेका फूलमा क्षति पु¥याएको थियो ।

लुम्बिनी प्रदेशमा लगाइएको फूल खेतीमध्ये ७० प्रतिशतसम्म क्षति भएको एसोसिएशनका अधिकारीहरू बताउँछन् । यस्तै, तराईका जिल्लाहरू र पहाडी जिल्लामा पनि फूल खेतीमा आंशिक क्षति भएको छ । सबै जिल्लामा गरी करिब ३ लाख वटा माला बन्ने बराबर फूलमा क्षति भएको एसोसिएशनले जानकारी दिएको छ ।

यसैकारण यो वर्ष मालाको मूल्य वृद्धि हुने व्यवसायीहरू बताउँछन् । एसोसिएशनका अध्यक्ष तामाङले मूल्य गत वर्षभन्दा केही माथि जाने बताए । उनले भने, ‘यो वर्ष सयपत्रीको खुद्रा मूल्य १०० रुपैयाँसम्म र मखमलीको खुद्रा मूल्य ७० रुपैयाँसम्म पुग्न सक्छ ।’ गोदावरी फुलको मालाको मूल्य प्रति प्रतिगोटा एक हजारदेखि दुई हजारसम्म पुग्ने उनको भनाई छ ।

प्रतिगोटा १०० रुपैयाँ पर्ने सयपत्रीका १५ लाखवटा माला किनबेच भएमा १५ करोड रुपैयाँ हुन आउँछ । यस्तै, प्रतिगोटा ७० रुपैयाँसम्म पर्ने मखमलीका तीन लाख माला किनबेच हुँदा २ करोड १० रुपैयाँ लाख हुन आउँछ । तिहारमा जम्माजम्मी १५ हजारवटा गोदावरीको माला खरिदबिक्री हुने आँकलन छ ।

तीनै प्रकारका फूलको मालाको मूल्य करिब/करिब २० करोड रुपैयाँ हुन आउँछ । यद्यपी, यो तथ्यांक अनुमानित हो । ‘गाउँघरका मानिसले तिहारलाई चाहिने माला बनाउने फूल आफ्नै बारीमा उत्पादन गर्छन् । उनीहरूले थोरै मात्रामा बिक्री समेत गर्छन्,’ तामाङले भने, ‘जसको तथ्यांक हामीसँग हुँदैन । त्यसैले कारोबार हामीले अनुमान गरेकोभन्दा पनि माथि हुन सक्छ ।’

सयपत्री फूलको मालाको थोक मूल्य भने ६० रुपैयाँसम्म पर्नेछ । यस्तै, मखमली मालाको थोक मूल्य ४० देखि ५० रुपैयाँसम्म पर्ने अनुमान एसोसिएशनले गरेको छ । तर, थोकबाट किनेर खुद्रासम्म पु¥याउँदा र व्यापारीले नाफा जोड्दा उपभोक्ता मूल्य बढ्नेछ ।