स्ववियू निर्वाचनको लागि अनेरास्ववियूले भिसीलाई बुझाए १६ बुँदे ज्ञापनपत्र

१४ कार्तिक २०७८, आईतवार १७:५५

काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियूले स्ववियू निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न त्रिभुवन विश्वविद्यालयको ध्यानाकर्षण गरेको छ ।

आइतबार अनेरास्ववियूकी अध्यक्ष सुनिता बराल नेतृत्वको टोलीले त्रिविका उपकुलपति (भिसी) धर्मकान्त बाँस्कोटालाई १६ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

आगामी फागुन १४ गते स्ववियु चुनाव सम्पन्न हुने गरी कार्यतालिका ल्याउन अनेरास्ववियू सचिवालय सदस्य तथा त्रिविका इन्चार्ज मदन विष्टले जानकारी दिए ।

त्रिविले अध्ययन गराउने सबै प्राविधिक शिक्षा सातवटै प्रदेशमा तत्काल अनिवार्य सञ्चालन गर्न अनेरास्ववियूको माग छ । यस्तै कोभिड महामारीमा विद्यार्थीबाट लिइएको शुल्क फिर्ताका गर्न पनि अनेरास्ववियूको माग छ ।

पिछडिएका क्षेत्र, द्धन्द्धपीडित, उत्पीडित, महिला र विपन्न समूदायका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था गर्न माग गरिएको ज्ञापनपत्रमा उल्लेख छ ।