लन्डनमा प्रधानमन्त्री देउवालाई स्वागत, को को छन् भ्रमण टोलीमा ?

१३ कार्तिक २०७८, शनिबार ०८:५०

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार साँझ लन्डन आइपुगेका छन् । स्कटल्यान्डमा हुने जलवायु परिवर्तनसम्बन्धि सम्मेलन ’कोप २६’ भाग लिने सिलसिलामा शुक्रबार उनीसहितको टोली लन्डन आएका हुन् ।

बेलुका ८ बजे लन्डनको हिथ्रो विमानस्थल अवतरण गरेका प्रधानमन्त्री देउवालाई बेलायती संसद्मा नेपाल हेर्ने सर्वदलीय संसदीय समितिका अध्यक्ष एवम् सांसद वीरेन्द्र शर्मा, बेलायतका लागि कार्यवाहक नेपाली राजदूत रोशन खनाल लगायतले  विमानस्थलको भिआइपी कक्षमा स्वागत गरेका थिए ।

प्रधानमन्त्रीलाई स्वागत गर्न दूतावासका मिलिटरी एट्याची रत्न गोदार र समाजसेवी व्यवसायी रविजंग लामिछाने पनि विमानस्थल पुगेका थिए ।

प्रधानमन्त्री भ्रमण टोलीमा वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादव, गृह सचिव टेकनारायण पाण्डे, अर्थ सचिव मधुकुमार मरासिनी, परराष्ट्र सचिव भरतराज पौड्याल, ऊर्जा सचिव देवेन्द्र कार्की, वन तथा वातावरण सचिव प्रेमनारायण कँडेल र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी लगायत उच्च अधिकारीहरू पनि भ्रमणमा सहभागी छन्  ।

बेलायतका लागि पूर्व राजदूतको डा दुर्गाबहादुर सुवेदी पनि परराष्ट्र मन्त्रालयका शिष्टाचार महापालका रूपमा  भ्रमण टोलीमा छन् ।

पाँचौँ पटक  प्रधानमन्त्रीमा  नियुक्त  भएपछि देउवाको यो पहिलो विदेश भ्रमण हो । बेलायतमा उनको बसाइ लन्डनस्थित नेपाली दूतावासमा हुनेछ ।

शनिबार साँझ भने प्रधानमन्त्री देउवाको सम्मानमा बेलायती संसद्को नेपाल मामिला हेर्ने  अन्तर पार्टी संसदीय समितिका तर्फबाट रिसेप्सन आयोजना हुँदैछ । लन्डनको ऐतिहासिक क्लब ‘द नाभेल एन्ड मिलिटरी क्लब‘ मा आयोजना हुने रिसेप्सनमा बेलायती मन्त्री, सांसद, राजनीतिक पार्टीका प्रतिनिधिलगायतका उच्च अधिकारीको सहभागिता रहनेछ ।