दैनिक एक हजार वैदेशिक रोजगारी जाँदै

११ कार्तिक २०७८, बिहीबार १६:३७

काठमाडौं । कोरोना महामारीका कारण शून्यमा झरेको वैदेशिक रोजगारी लयमा फर्कन थालेको छ । दसैँपछि वैदेशिक रोजगारीमा जानेको संख्या निकै बढेको छ । वैदेशिक रोजगार विभागका निर्देशक तथा प्रवक्ता कमल ज्ञवालीले वैदेशिक रोजगारीमा जानेको संख्या दिनदिनै बढिरहेको बताए । उनका अनुसार विदेशबाट नेपाली कामदारको माग बढ्न थालेपछि श्रम स्वीकृति लिने र वैदेशिक रोजगारीका लागि उड्नेको संख्या बढ्न थालेको हो ।

 

विभागले मातहतका ७ वटा कार्यालयमार्फत वैदेशिक रोजगार निम्ति श्रम स्वीकृति दिँदै आएको छ । जसमध्ये ६ वटा कार्यालयले पुनः श्रम स्वीकृति दिन्छन् । वैदेशिक रोजगार कार्यालय, ताहाचलले नयाँ श्रम स्वीकृति दिन्छ ।
वैदेशिक रोजगार कार्यालय, ताहाचलका अनुसार दसैँपछि दैनिक ८०० जनाले व्यक्तिगत श्रम स्वीकृति लिँदै आएका छन् । नयाँ श्रम स्वीकृति, पुनः श्रम स्वीकृति, लिगलाइजेसन (स्टडी भिसामा गएका नेपालीले वर्क परमिट पाएपछि कामदार भिसा लिने प्रक्रिया) र विदेशमा भएका आफन्त वा साथीले पठाउने भिसा समेत गरेर ८०० को हाराहारीमा श्रम स्वीकृति प्रदान गर्ने गरिएको छ ।

 

यसमध्ये दैनिक करिब ६०० जनाले कार्यालयमा भौतिक उपस्थिति भएरै स्वीकृति लिइरहेका भने २०० जनाले अनलाइनमार्फत स्वीकृति लिने गरेका छन् । साथै, संस्थागत रूपमा (मेनपावरले सीधै पठाउने) विदेश जान श्रम स्वीकृति लिनेहरूको संख्या ५००/६०० हाराहारी छ । यो संख्याले श्रम गन्तव्य मुलुकमा नेपाली कामदारको माग बढिरहेको देखाएको विभागका अधिकारीहरू बताउँछन् ।

निर्देशक ज्ञवालीले विदेशका उत्पादनमूलक उद्योगले कामदार उच्च संख्यामा मागिरहेको बताए । भने, ‘कोभिड–१९ का कारण धेरै मुलुकको उत्पादन रोकिएको रहेछ । अहिले उत्पादन प्रकृया सुरु भएसँगै कामदार माग ह्वात्तै बढेको छ ।’ दसैं बिदामा आएका कामदार समेत यतिखेर श्रम गन्तव्यमा फर्कन थालेका छन् । यो सँगै पछिल्लो समय दैनिक एक हजार जना विदेशतर्फ उड्न थालेको ज्ञवालीले आयोखबरलाई बताए ।

 

चालू वर्षमै १ लाख १२ हजारले लिए स्वीकृति
चालू आर्थिक वर्ष २०७८/७९ को तीन महिना अवधिमा वैदेशिक रोजगारीमा जान १ लाख १२ हजार ६९९ जनाले श्रम स्वीकृति लिएका छन् । जसमध्ये, १ लाख ३ हजार ५३४ जना पुरुष र ९ हजार १६५ जना महिलाले श्रम स्वीकृति लिएको विभागले जानकारी दिएको छ ।

 

तीन महिनाभित्र उक्त संख्यामा श्रमिकले पुनः श्रम स्वीकृति, नयाँ श्रम स्वीकृति, लिगलाइजेसन लगायत शीर्षकमा स्वीकृति लिएका हुन् । यस्तै, साउनमा २५ हजार ४२८, भदौमा ३६ हजार २० र असोजमा ३९ हजार ६१८ जनाले स्वीकृति लिएका छन् ।
श्रम स्वीकृति लिएर विदेश जानेको संख्या बढेपछि पछिल्लो दुई महिनायता घट्दै गएको रेमिट्यान्स (विप्रेषण) पनि बढ्ने अनुमान गरिएको छ ।

तीन महिनामा श्रम स्वीकृति लिएकाको संख्या :