टर्कीले निकाल्यो १० देशका राजदूत, कुन कुन देशका निस्के ?

७ कार्तिक २०७८, आईतवार १६:५०

एजेन्सी ।

टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआनले अमेरिका, फ्रान्स र जर्मनी सहित १० देशका राजदूतलाई टर्की छोड्ने आदेश दिएका छन् ।

सरकारले ती राजदूतहरूलाई पर्सोना नन ग्राटा घोषित गरेको छ । ती राजदूतहरूले टर्कीको कारागारमा राखिएका एक समाजसेवीको रिहाइको माग गरेका थिए ।

राजधानी अंकारामा १० देशका राजदूले अघिल्लो साता एक बयान जारी गरेर उस्मान कवला नामक व्यक्ति निर्दोष भए पनि कैद गरिएको बयान जारी गरेका थिए ।

राष्ट्रपति एर्दोआनले यो बयान अशिष्ट भएको बताउँदै राजदूतहरूलाई अस्वीकार्य व्यक्ति घोषणा गरे ।

नेदल्यान्ड्स, क्यानडा, डेनमार्क, फिनल्यान्ड, नर्वे र न्युजील्यान्डका राजदूत पनि निकालिने भएका छन् । उनीहरू सबैलाई मंगलवार परराष्ट्र मन्त्रालयमा बोलाइएको थियो ।

सन् २०१३ मा गरिएको सरकारविरोधी आन्दोलनमा सहभागी भएको भन्दै कवालालाई कैद गरिएको थियो । त्यस आरोपबाट उनलाई मुक्त गरिएको भए पनि सन् २०१६ मा गरिएको कूको प्रयासको आरोपमा उनलाई दोषी बनाइएको थियो ।