
काठमाडौं । मेरा पिक (६४७६ मि.) आरोहणका क्रममा बेपत्ता भएका ४ मध्ये ३ जना आरोही गम्भीर अवस्थामा फेला परेको नेपाल पर्वतारोहण संघले जनाएको छ ।
बुधबार दिउँसो करीब साढे २ बजे रेस्क्यू टोलीले उनीहरुलाई फेला पारेको संघका अध्यक्ष सन्तबीर लामाले आयोखबरलाई जानकारी दिए ।
एक विदेशी र तीन नेपालीसहित चार जना आरोही मंगलबारदेखि बेपत्ता थिए ।
‘मंगलबार दिउँसोसम्म आरोहीहरु सम्पर्कमै थिए,’ उनले आयोखबरसँग भने, ‘त्यसपछि हराएका उनीहरुमध्ये तीन जना भखरै भेटिएको खबर आएको छ ।’ भेटिएका तीन जना गम्भीर अवस्थामा रहेको र आधार शिविरतर्फ झार्ने काम भइरहेको उनले जानकारी दिए ।
थप एक जनाको खोजी समेत भइरहेको उनले बताए ।
आरोहीहरु हराएसँगै उद्धारमा हेलिकप्टर पठाउने प्रयास भने अझै सफल हुन नसकेको अध्यक्ष लामाको भनाइ छ ।
तीन जना नेपाली र एक जना बेलायती आरोही रहेपनि उनीहरुको पहिचान भने खुलाइएको छैन ।
